अटाे शाेमा पहिलो इलेक्ट्रीक मोटरसाइकल, यस्तो छ मूल्य र माइलेज

काठमाडौं । नेपाली बजारमा इलेक्ट्रीक सवारीसाधनको बिक्री बढेसँगै इलेक्ट्रीक मोटरसाइकल समेत आएको छ । सुपर शोको ब्रान्डमा टिएस र टिसी मोडलको इलेक्ट्रीक मोटरसाइकल नेपाली बजारमा आएको हो । यो मोटरसाइकल नाडा अटो शो २०१९ मा प्रर्दशनी हुनेछ ।

यसअघि नै बजारमा इलेक्ट्रीक स्कुटरले राम्रो स्थान बनाइसकेको छ । पछिल्लो दिनमा यातायात व्यवस्था विभागले समेत इलेक्ट्रीक भेहिकललाई अनिर्वाय दर्ता गर्नु पर्ने भन्दै कडाइ गरे पश्चात् नेपाली बजारमा गुणस्तरीय इलेक्ट्रीक सवारीसाधन भित्रन थालेका हुन् ।

हाल नेपाली बजारमा दुई पाङग्रे सवारीसाधनमा एनआइयू, टेरा मोटर्स, भि–मोटो, मियामा, योमा माइ, ओकिनवा, हिरो इलेक्ट्रीक जस्ता थुप्रै ब्रान्ड प्रबेश गरेका छन् । 

सोको नामक अस्ट्रेलियन ब्रान्डको उत्पादन नेपाली बजारमा आस्टा अटोमोवाइलले ल्याएको हो । हाल कम्पनीले दुई मोडलका मोटरसाइकल बिक्री गर्दै आएको आस्टा अटोमोवाइलले जानकारी दिएको छ । 

१. सुपर सोको टीएस

सोको टीएस बाइकमा ६० भोल्टको २६ एएच (१.५६ किलोवाट पर आवर) मोटर रहेको छ । यो मोटरले १२० एनएम टर्क जेनेरेट गर्छ । ७८ किलोग्राम तौल रहेको यो मोटरसाइकल एक पटकको फुलचार्जमा ८० किलोमिटर चलाउन सकिन्छ । उक्त मोडल दुई ब्याट्री अप्सनमा उपलब्ध रहेको छ । टप रेञ्ज प्रदान गर्ने मोटरसाइकल एक पटकको फुलचार्जमा १६० किलोमिटर यात्रा गर्न सकिन्छ । उक्त व्याट्री साधारण घरमा प्रयोग हुने विजुलीबाटा फुल चार्ज गर्न ५ देखि ६ घन्टासम्म लाग्ने कम्पनीले जनाएको छ । 

मोटरसाइकलको ग्राउन्ड क्लियरेन्स १९८ एमएम रहेको छ । यसमा फुल एलइडी हेडल्याम्प, डिजिटल अटो लाइट एडजस्टेड कन्सोल, रिमोर्ट कि कन्ट्रोल जस्ता बिशेषता रहेका छन् ।  यसको मूल्य २ लाख ४९ हजार रुपैयाँ तोकिएको छ । 

२. सुपर सोको टीसी

सुपर सोको टीसी बाइकमा सोको टीएसकै समान ६० भोल्टको ३० एएचको मोटर रहेको छ । यो इन्जिनले अत्याधिक १५० एनएम टर्क जेनेरेट गर्छ । ८४ किलोग्राम तौल रहेको यो बाइकमा पनि दुई व्याट्री अप्सन रहेको छ । एउटा व्याट्री प्याकले एक पटकको फुलचार्जमा ८० किलोमिटर यात्रा गर्न सकिन्छ भने, अर्को अप्सनमा जाँदा १६० किलोमिटर यात्रा गर्न सकिने कम्पनीले जनाएको छ । 

यसको ग्राउन्ड क्लियरेन्स टीएस कै समान १९८ एमएम रहेको छ । यसमा एलइडी हेडल्याम्प, रियर र फ्रन्टमा डिस्क ब्रेक, रिमोट कन्ट्रोल, ब्ल्टुथ कनेक्टीभीटी जस्ता फिचर रहेका छन् । यसको मूल्य २ लाख ७४ हजार रुपैयाँ तोकिएको छ । 

नेपाली बजारमा यो इलेक्ट्रीक मोटरसाइकलले कस्तो व्यापार गर्छ त्योभने हेर्न बाँकी नै रहेको छ ।


Back_to_top