टुटल र पठाओ जस्ता कम्पनीलाई बजेटले दियो कर छुट

काठमाडौं । सरकारले बजेटमा करको दायरामा नआएका स्टार्टअप कम्पनीलाई करको दायरामा आए २०७५ भन्दा अघिको सम्पूर्ण कारोबारमा लाग्ने कर तथा जरिवाना मिनाहा हुने व्यवस्था गरेको छ । 

त्यसको प्रत्यक्ष फाइदा टुटल र पठाओलाई हुने देखिएको छ । केही समयअघि सेवाग्राहीबाट भ्याट उठाएर राज्यलाई नबुझाएको भन्दै आन्तरिक राजस्व कार्यालय ललितपुरले टुटललाई जरिवाना र ब्याजसमेत गरी ३ करोड ३९ लाख रुपैँया कर निर्धारण गरेको थियो । पठाओले पनि कर छली गरेको आशंकामा कर कार्यालयले छानबिन गरी कर र जरिवाना समेत ३० लाख रुपैयाँ निर्धारण गरेको थियो ।

बजेट मार्फत अर्थमन्त्री डा. युवराज खतिवडाले करको दायरमा नआएका स्टार्टअप संचालकलाई ०७६ पुस मसान्तभित्र मूल्य अभिवृद्धि कर र आयकरको दायरामा आएमा त्यस भन्दा अघिका सम्पूर्ण कारोबारमा लाग्ने कर, जरिवाना, थप दस्तुर, शुल्क तथा ब्याज मिनाहा दिने व्यवस्था गरेका छन् ।

कानुन विपरीत भन्दै ट्राफिक प्रहरीले कारबाही सुरु गरेको यी कम्पनीको सेवालाई प्रधानमन्त्रीको सक्रियतामा पुनः संचालन गर्न दिइएको थियो । 


Back_to_top