अवैध रुपमा राखिएका टिकट काउन्टर ७ दिनभित्र हटाइने

Not found

काठमाडौं । ट्राफिक प्रहरीले विभिन्न स्थानमा राखिएका सार्वजनिक बसका टिकट काउन्टरहरु हटाउने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको गौशाला, कलंकी, कोटेश्वर, सुन्धारालगायत स्थानमा मनलागी राखिएका टिकट काउन्टर हटाउने भएको हो । 

यसरी जथाभावी राख्दा सवारी साधनको आवागमनमा समस्या परेकाले ७ दिनभित्र त्यस्ता काउन्टर हटाउने प्रहरीले जनाएको छ । सहरमा रहेका बस पार्कलाई व्यवस्थित बनाउने योजना सहित निर्णय गरिएको प्रहरीको भनाई छ । 

जिल्ला प्रशासन कार्यालयमा केही दिनअघि बसेको ट्राफिक प्रहरी र यातायात व्यवसायीको बैठकले नयाँ बसपार्क तथा अन्य ठाउँमा नियमानुसार राखिएका काउन्टरमा टिकट वितरण गर्ने व्यक्तिले अनिवार्य रुपमा पोशाक लागउनुपर्ने र साथमा परिचयपत्र राख्नुपर्ने व्यवस्था गरेको थियो ।

नयाँ बसपार्क पुलमुनिको टहरा सात दिनभित्र नहटाए बल प्रयोग गरेर करिडोर खोल्ने निर्णय भइसकेको छ । यस्तै बालाजु पुलनजीक रहेको शिवमन्दिर क्षेत्रको साँघुरो बाटोलाई फराकिलो बनाइने भएको छ । 

यस्तै विभिन्न जिल्लाबाट काठमाडौं भित्रिने सवारी साधन नयाँ बसपार्क नगई आफूखुसी विभिन्न स्थानमा रोकिने भएकाले यसलाई कडाइ गरिने भएको छ । लामो तथा मध्यम दूरीका यात्रुवाहक सवारी साधनले अनिवार्य रुपमा टिकट जारी नगरे कारवाही गरिने जनाइएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले उपत्यकाको समग्र ट्राफिक सुधारका लागि ट्राफिक प्रहरीले चालेको कदममा व्यवसायीहरुको पूर्णसहयोग हुने बताए । राजधानीलाई व्यवस्थित र सुन्दर बनाउन सरकारले चालेका कदममा व्यवसायीहरु हरतरहले सहयोग गर्न तयार रहेको सिटौलाको भनाई छ । 



image not found