एसयूभी सेगमेन्टमा स्कर्पियो र क्रेटा आमनेसामने, यस्तो छ बिक्री तथ्यांक

काठमाडौं । स्पोर्टस् युटिलिटी भेइकल (एसयूभी) सेगमेन्टका सवारीको माग संसारभर नै बढ्दै गएको छ । उपभोक्ताको चाहना अनुरुप सवारी उत्पादक कम्पनीहरुले पनि एसयूभी फ्लेवरका सवारी उत्पादनलाई जोड दिएका छन् । 

नेपाली बजारमा पनि एसयूभी सेगमेन्टका सवारी धेरै बिक्री हुने गरेको छ । २०७५ साउनदेखि २०७६ बैशाखसम्म नेपाली बजारमा मिडसाइज एसयूभी ३ हजार ३ सय ६९ वटा बिक्री भएको छ । 

यो सेगमेन्टमा सबैभन्दा धेरै महिन्द्रा स्कर्पियो बिक्री भएको छ । १० महिनामा १ हजार ४ सय १५ वटा स्कर्पियो बिकेको हो । स्कर्पियो पछि धेरै बिक्री हुनेमा हुन्डाई क्रेटा रहेको छ । क्रेटा १० महिनामा ९ सय ५८ वटा बिक्री भएको तथ्यांक छ । 

स्कर्पियो र क्रेटा नेपाली बजारमा निक्कै रुचाइएको मिड साइज एसयूभी हो । बाटो र सवारीको बनावटका कारण यो सेगमेन्टका सवारी धेरै बिक्री हुँदै आएको छ । 

हुन्डाई क्रेटापछि रेनोको डस्टर १० महिनामा १ सय ५७ वटा बिक्री भएको छ । डस्टरलाई जीप कम्पासले पक्षाएको छ । नेपाल भित्रिएको १ वर्ष भन्दा कम समयमा जीप कम्पासले निक्कै राम्रो बिक्री हाँसिल गरेको छ । 

२०७५ को भदौमा नेपाल आएको जीप कम्पास १ सय ४६ वटा बिक्री भएको छ । जीप कम्पास र टोयोटा रसको बिक्री संख्या निक्कै नजिक रहेको छ । टोयोटाको रस ०७५ साउनदेखि ०७६ बैशाखसम्मको १० महिनामा १ सय ४० वटा बिक्री भएको छ । 

नेपाली बजारमा १० महिनामा निसानको किक्स १ सय ३७ वटा, किया स्पोर्टेज १ सय १६ वटा, निसान टेरानो पनि किया स्पोर्टेज सरह १ सय १६ वटा बिक्री भएको तथ्यांक छ । त्यस्तै टाटाको स्ट्रोम ६५ वटा, रेनो क्याप्चर ५६ वटा, महिन्द्रा एक्सयूभी–५०० ३५ वटा बिक्री भएको छ । 

यो सेगमेन्टमा एमजी जेडएस १७ वटा, इसुजु एमयू–एक्स ९ वटा, स्याङयोङ टिभोली २ वटा र प्यूजो २००८ २ वटा बिक्री भएको तथ्यांक छ । 


Back_to_top