भारतमा सार्वजनिक भयो सुजुकी जिक्सर २५० नेकेड, १५ दिनपछि नेपालमा

काठमाडौं । सुजुकी मोटरसाइकलले भारतमा जिक्सर २५० को नेकेड भर्सन सार्वजनिक गरेको छ । नेपालमा याे बाइक आगामी भदाै १० गते सार्वजनिक हुनेछ ।

कम्पनीले यो मोटरसाइकल १ लाख ५९ हजार भारतीय रुपैयाँमा सार्वजनिक भएको हो । यसले एनएस २००, यामाहा एफजेड २५ र अपाची आरटीआर २०० फोर भी रेससँग प्रतिस्पर्धा गर्ने छ ।

यसमा जिक्सर एसएफ २५० मा उपलब्ध एलइडी टेल ल्याम्प, फ्युल ट्यांक र नयाँ हेडल्याम्प र डिजिटल क्लस्टर लगाइएको छ । यसमा उपलब्ध फोर स्ट्रोक सिंगल सिलिन्डर आयल कूल्ड, एसओएचसी इन्जिनले ९ हजार आरपीएममा २६.५ पिएस पावर र ७ हजार ५ सय आरपीएममा २२.६ एनएम टर्क उत्पादन गर्छ । इन्जिनमा ६ स्पीड ट्रान्समिसन दिइएको छ ।

जिक्सर २५० को फ्रन्टमा ११०/७० आर र रियरमा १५०/६० आरको १७ इन्च ह्वील लगाइएको छ । यसको लम्बाई २०१० एमएम, चौडाई ८०५ एमएम र उचाई १०३५ एमएम रहेको छ ।

यसमा १३४० एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको छ भने सिट हाइट १६५ एमएम  रहेको छ । १५६ किलोग्रामको यस मोटरसाइकलमा १२ लिटर इन्धन क्षमताको फ्युल ट्यांकी लगाइएको छ । यसमा डबल च्यानल एबीएसको विशेषता दिइएको कम्पनीले जनाएको छ ।

भारतीय बजारमा भर्खरै सार्वजनिक भएको उक्त मोटरसाइकल भदौ १० बाट हुने नाडा अटो शोमा सुजुकी जिक्सर एसएफ २५० र सुजुकी २५० नेकेड भर्सन प्रदर्शनी गर्ने भएको छ । सुजुकी एसएफ २५० को मूल्य ४ लाख तथा नेकेड भर्सको मूल्य ४ लाख पर्ने अनुमान गरिएको छ ।


Back_to_top