टाटा मोटरको घोषणाः चर्चित मोडल नेक्सन इलेक्ट्रीक भर्सनमा आउने

टाटा मोटरले आगामी १८ महिना भित्र ४ नयाँ इलेक्ट्रीक कार बजारमा ल्याउने घोषणा गरेको छ । कम्पनीका अध्यक्ष एन चन्द्रशेखरनले ७४ औं वार्षिक साधारण सभामा लगानीकर्तालाई उक्त कुराको जानकारी दिएका हुन् ।

कम्पनीले आफ्नो सर्वाधिक सफल मोडल नेक्सनको इलेक्ट्रीक भर्सन, अल्ट्रोज इभी, टिगोर इभी र एउटा अहिल्यै नाम नखुलाएको गाडी सार्वजनिक गर्ने भएको छ ।

कम्पनीले नेक्सन इभीको पहिलो पटक घोषणा गरेको हो । टिगोर इभी कम्पनीले अघिल्लो वर्षबाटै उत्पादन गरिरहेको छ भने, अल्ट्रोज इभीको प्रोटोटाईप भने जेनेभा मोटर शोमा सार्वजनिक गरेको थियो । 

टाटाले ल्याउने नेक्सन इभीमा लिथियम आयोन व्याट्री दिने कम्पनीले जनाएको छ भने उक्त व्याट्री फिउल ट्याङ्क भएको ठाँउमा राखिने छ । साथै, उक्त मोडल एसी र डीसी फास्ट चार्जरको प्रयोग गर्न मिल्ने हुनेछ । 

डीसी फास्ट चार्जरले चार्जगर्दा ६० मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिने छ भने करिब २५० देखि ३०० किलोमिटर रेञ्ज प्रदान गर्ने अनुमान गरिएको छ । उक्त रेञ्ज अल्ट्रोज इभीमा पनि रहने कम्पनीले जनाई सकेको छ । 

कम्पनीले रेगुलर मोडल नेक्सनको फेसलिफ्ट मोडल आगामी दिल्ली अटो शोमा सार्वजनिक गर्ने तयारी गरेको छ भने इलेक्ट्रीक नेक्सनको प्रोटोटाईप पनि सार्वजनिक हुने आाकलन गरिएको छ ।   


Back_to_top