सार्वजनिक पार्किङका लागि जग्गा उपलब्ध गराए ५ वर्ष कर छुट

Not found

काठमाडौं । सार्वजनिक पार्किङका लागि व्यक्तिगत जग्गा उपलब्ध गराए ५ वर्षसम्म सम्पत्ती कर छुट हुने भएको छ । काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षदेखि लागु हुने गरि यो नीति ल्याएको हो । 

महानगरले जो-कोहीले व्यक्तिगत सम्पत्तिमा सार्वजनिक पार्किङ्का लागि जग्गा उपलब्ध गराउँछ भने उसलाई सम्पत्तिमा लाग्ने  कर ५ वर्षका लागि छुट हुने व्यवस्था गरिएको जनाएको छ । 

यस्तै क वर्गका भूकम्पबाट प्रभावित घरधनीलाई पहिले जत्रै आवासीय घर बनाउँदा लाग्ने नक्सापास दस्तुरमा पूरै छुट दिइने व्यवस्था समेत गरिएको छ । 

बहाल करबाट वार्षिक १ लाख रुपैयाँसम्म मात्र आम्दानी हुनेलाई बहाल करमा छुट दिइएको छ । नयाँ घर बनाउँदा कसैले परम्परागत शैली अबलम्बन गर्छ भने उसलाई नक्सा स्वीकृतिमा लाग्ने दस्तुरमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । 

धारा, बत्ती जडान गर्न सिफारिस लिन आउने करदाताले आफ्नो घर २१ सालको नापी नक्सामा घर उल्लेख भएको देखाउन सके १ हजार रुपैयाँमा सिफारिस दिने निर्णय गरिएको महानगरले जनाएको छ । अन्यले यस सिफारिसका लागि ५ हजार रुपैयाँ शुल्क तिर्नुपर्छ । 

सम्पत्ति करमा दिइएको छुटसँगै यस वर्ष करको दायरा बढाउने उद्देश्यले बिगत वर्षमा करवापत्को बक्यौता रकममा जरिवाना नलिने निर्णय गरिएको राजस्व विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिए । 



image not found