१० महिनामा १० हजार ट्याक्सी कारवाहीमा, निगरानी थप बढाउँछौंः ट्राफिक

Not found

काठमाडौं । ट्राफिक प्रहरीले ट्याक्सीबाट ठगीएको गुनासो आएपछि कारबाहीलाई तिब्रता दिएको थियो । तर ट्राफिकको कडा कदमकाबीच १० महिनामा १० हजारभन्दा बढी ट्याक्सी चालक कारबाहीमा परेका छन् । 

चालू आर्थिक वर्षको १० महिनामा १० हजार ७ सय ८७ ट्याक्सी चालकहरुलाई कारवाहीको दायरामा आएका छन् । मिटरमा जान नमान्ने, मिटर विगार्ने, भाडा अनियमितता गर्नेलगायतका कानुन विपरित काम गरेको भन्दै १० महिनामा १० हजार बढी ट्याक्सी चालकहरुलाई कारवाही गरिएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

ट्याक्सी चालहरु भाडादर परिमार्जन गरेर वैज्ञानिकरुपमा भाडादर कायम गर्न माग गर्दै आएका छन् । ट्याक्सी चालकहरु सरकारले वैज्ञानिक भाडादर कायम नगरेकै कारण नचाहेरै बढी भाडा लिनु परेको दाबी गर्दै आएका छन् । उनीहरुले सरकारले वैज्ञानिक भाडा कायम गरे कुनै ट्याक्सी चालकले यात्रुबाट बढी बाढा नउठाउने बताउदै आएका छन् ।

३ वर्ष यता प्रत्येक वर्ष ट्याक्सी चालकहरु कारवाहीमा पर्नेको संख्या बढ्दै गएको  छ । गत वर्ष ८ हजार १२० सवारी चालकलाई कारवाही गरिएको महानगरिय ट्राफिक महाशाखाले जानकरी दिएको छ । 

यस्तै २०७३÷७४ को तथ्यांक हेर्ने हो भने ४ हजार ५१८ ट्याक्सी चालकलाई मिटरमा नगएका कारण कारवाही गरिएको थियो । त्यस अघि २०७२÷७३ मा २ हजार ७ सय ९५ ट्याक्सी चालकहरुलाई कारवाहीको दायरामा ल्याइएको तथ्यांक छ । 

ट्याक्सी चालकले ठगेको, मिटरमा जान नमानेको विषयमा गरिने कारबाहीलाई ट्राफिक प्रहरीले कडाईका साथ कार्यान्वयन गर्ने महाशाखाको भनाई छ । 

ट्याक्सी चालकहरु भने २०६९ सालमा तोकिएको भाडादर परिमार्जन गरेर वैज्ञानिकरुपमा भाडादर कायम गर्न सरकारसँग माग गर्दै आएका छन् । 

हरेक वस्तुको मूल्यवृद्धि भएको तर, त्यस अनुसार ट्याक्सी भाडा पनि समायोजन हुनुपर्ने दाबी ट्याक्सी चालकहरुको छ । सरकारले २०७५ असोज ७ गतेबाट १० प्रतिशत भाडा वृद्धि गरेको थियो  । तर, त्यो पेट्रोलिय पदार्थको आधारमा मात्र भाडा समायोजन भएको नेपाल मिटर ट्याक्सी व्यवसायी संघका अध्यक्ष अर्जुन गौतमले बताए ।

केही समय अघि ट्याक्सी व्यवसायी तथा चालकहरुले वैज्ञानिक हिसावले भाडा समायोजन गर्न माग गर्दै सभ्य विरोध समेत गरेका थिए । व्यवसायीहले ट्याक्सी भाडा ५७ रुपैयाँ प्रति किलोमिटर वृद्धि गराउन माग गरेका छन् ।

सरकारले भाडा समायोजन गर्दा पेट्रोलियम पदार्थको मूल्य घटबढ र वार्षिक राष्ट्र बैंकले निकाल्ने तथ्यांकको आधारमा मूल्य वृद्धि गर्नु पर्ने हुन्छ । 

२०६५ मा बनेको वैज्ञानिक भाडा दर मापदण्ड अनुसार ३५ प्रतिशत बजार मूल्य र ६५ प्रतिशत पेट्रलियम पदार्थलाई आधार मानेर मिटर भाडा समायोजन गर्नु पर्ने हुन्छ ।



image not found