पाेखरामा पर्यटक बसका चालक र सहचालकलाई तालीम

रासस । नेपाल पर्यटन बोर्डको प्रवद्र्धन एवं पर्यटन यातायात समिति पोखराको आयोजनामा पोखरामा पर्यटक बस चलाउँदै आएका चालक एवं सहचालकलाई तालीम दिइएको छ । पर्यटक आउँदा वा जाँदा पहिलो र अन्तिम सम्पर्क व्यक्ति चालक एवं सहचालक हुने भएकाले उनीहरूलाई पर्यटकसँग गरिने व्यवहार, आतिथ्यता, अत्यावश्यकीय प्राविधिक जानकारीलगायतका विषयमा प्रशिक्षण दिइएको हो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका निर्देशक मणि लामिछानेले पर्यटकका लागि आउँदाजाँदा पहिलो वा अन्तिम सम्पर्क व्यक्ति चालक, सहचालक हुने भएकाले उनीहरूको व्यहारले घुम्ने स्थानका सम्बन्धमा पर्यटकले धारणा बनाउने बताए । चालक, सहचालकलाई पर्यटनको अवैतनिक राजदूतका रूपमा चित्रण गर्दै उनीहरूको व्यवहार एवं बोलिचालीले पर्यटकको बसाइ लम्ब्याउने वा छोट्याउने कुरामा निर्भर गर्ने धारणा राखेका थिए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले चालक, सहचालकको बोली एवं व्यवहारले कुनै पनि पर्यटकीयस्थल एवं समग्र राष्ट्रलाई प्रभाव पार्ने उल्लेख गरे । पर्यटकको बसाइ अधिकतम लम्ब्याउने कुरामा चालक, सहचालकको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ छ ।

पर्यटक सवारीसाधन चलाउँदै आएका १ सय ५६ चालक र सहचालक सहभागी प्रशिक्षणमा चार प्रशिक्षकले विभिन्न विषयमा जानकारी गराएको पर्यटन यातायात समिति पोखराका महासचिव नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार नेपाल पर्यटन बोर्डका प्रबन्धक सूर्य थललियाले अतिथि सत्कार, प्रहरी सहायक निरीक्षक लोकराज भण्डारीले ट्राफिक नियम, सिप्रदी टे्डिङ पोखराका इन्चार्ज सञ्जय विष्टले प्राविधिक विषय र डा मुकेश मल्लिकले उच्च चापीय क्षेत्रमा अपनाउनुपर्ने स्वास्थ्य सजगतालगायतका विषयमा प्रशिक्षण दिएका थिए । पर्यटन यातायात समिति, पोखरामा ४ सय ५० पर्यटक बस र १ सय २८ व्यवसायी आबद्ध छन् ।


Back_to_top