अब ट्रायल पास गरेको १५ दिनमा लाइसेन्स पाइने

Not found

काठमाडौं । अब ट्रायल पास गरेको १५ दिनमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) पाइने भएको छ । लाइसेन्सका लागि ट्रायल पास गरी लाइसेन्स फारम भरेको १५ दिनमा लाइसेन्स पाइने यातायात व्यवस्थापन विभागले जानकारी दिएको हो । 

यसको लागि विभागले  प्रतिघण्टा ४ सय ५० स्मार्ट लाइसेन्स छाप्ने मास प्रिन्टर ल्याइसकेको छ । हाल विभागले कर्मचारीलाई मास प्रिन्टर सञ्चालनको तालिम दिइरहेको छ । अबको २ साता भित्र मास प्रिन्टर सञ्चालनमा ल्याइने विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिए ।

प्रिन्टरलाई दिनको ३ सिफ्ट गरेर १८ घण्टा लाइसेन्स प्रिन्ट गरिने उनले बताए । उनले प्रत्येक सिफ्टमा ६ घण्टा लाइसेन्स प्रिन्ट गरिने बताए । ‘हामीले ३ सिफ्ट गरेर, प्रत्येक सिफ्टमा ६ घण्टा लाइसेन्स प्रिन्ट गरिनेछ, प्रिन्ट मेसिनलाई लगातार चलाउँदा समस्या आउने भएकाले सिफ्ट अनुसार सञ्चालन गर्न लागिएको हो,’ हमालले मेरो अटोसँग भने । 

उनका अनुसार मास प्रिन्टरले दैनिक ८ हजार १ सय लाइसेन्स प्रिन्ट गर्नेछ । पुराना प्रिन्ट हुन बाँकी लाइसेन्स ६ लाखका हारहारीमा रहेका छन् । सो लाइसेन्स प्रिन्ट गरिसक्न ४ देखि ५ महिना समय लाग्ने उनले बताए ।

यस अनुसार पुष महिनापछि ट्राइल पास गरेको १५ दिनमा लाइसेन्स पाइने छ । ‘पुराना लाइसेन्स प्रिन्ट भइसकेपछि नयाँ लाइसेन्स लिनेले ट्राइल पास गरेको १५ दिनमै लाइसेन्स पाउने छन्,’ हमालले भने । 

मास प्रिन्टर भारतीय कम्पनी मद्रास प्रिन्टरले नेपालमा आपूर्ति गरेको हो । मद्रासले स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने १० लाख कार्ड पनि आपूर्ति गर्ने जिम्मा लिएको छ ।नेपालमा स्मार्ट लाइसेन्स छपाइ व्यवस्थापनको जिम्मा मद्रासले आफैं लिएको छ । हाल दैनिक १५ सयको हाराहारीमा लाइसेन्स प्रिन्ट हुने गरेको छ । 

पछिल्लो समय झण्डै २ वर्षदेखि आवेदन आएका लाइसेन्स प्रिन्ट हुन सकेका छैनन् । अहिले विभागका ५ वटा पुरानामध्ये मुश्किलले ३ वटा मेसिनले मात्रै प्रिन्ट गरिरहेका छन् । अन्य बिग्रिएर थन्किएका छन् भने चलेका मेसिनमा समेत पटक–पटक समस्या आउने गरेका छन् । 

देशभरका १७ वटा लाइसेन्स कार्यालयबाट लाइसेन्स वितरण हुन्छन् । प्रिन्टर मेसिन विभागमा राखिने भएकाले सबै लाइसेन्स प्रिन्ट हुन विभागको मुख्य कार्यालयमै आउनु पर्ने अवस्था रहेको छ । नयाँ मास प्रिन्टर पनि सोही विभागमा रहने छ । 

सबै कार्यालयहरुमा सेवाग्राहीको चाप रहेकाले लाइसेन्सको माग पनि ठूलो दरमा बढिरहेको छ । कागजी लाइसेन्स हटाएर देशव्यापी रुपमा स्मार्ट लाइसेन्सको वितरण थालेपछि लाइसेन्सको माग बढेको हो । 

लाइसेन्स प्रिन्टर बिग्रिने तथा लाइसेन्स कार्ड नपुग्ने लगायतका समस्याका कारणले लाइसेन्स वितरणमा सन्तुलन आउन सकेको छैन । सेवाग्राहीले २ वर्षसम्म पनि लाइसेन्स नपाउने समस्या यथावत रहेको छ । 




image not found