लाईसेन्सको ट्रायल दिनेले थप रकम तिर्नु पर्ने

Not found

काठमाडौं । उपत्यका भित्र रहेका ४ वटा सवारी लाईसेन्सको ट्रायल सेन्टर मध्ये ३ वटा ट्रायल सेन्टरले सरकारी राजश्व बाहेक थप शुल्क लिन सुरु गरेका छन् । 

अब लाईसेन्स बनाउने मानिसले ट्रायल सेन्टर प्रयोग गरे बापत पनि थप रकम तिर्नु पर्ने भएको छ । 

ट्रायल दिदा राजश्व शुल्क बाहेकको अतिरिक्त शुल्क लिन पाइने वा नपाइने भन्ने विषय अन्योलमा परेको छ । अहिले ४ वटा मध्ये ३ वटा ट्रायल सेन्टरले राजश्व बाहेकको अतिरिक्त शुल्क लिने गरेको यातायात व्यवस्था विभागले जानकारी दिएको छ । 

विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार हाल भक्तपुरको जगाती, ठूलो भर्याङ र चाबहिलको सुकेधार स्थित ट्रायल सेन्टरले राजश्व बाहेकको अतिरिक्त रकम लिने गरेका छन् । 

भक्तपुरको राधेराधेमा २०७६ जेठ १ गतेदेखि ट्रायल गरे बापत राजश्व बाहेक मोटसाइकलको २२२ रुपैयाँ र गाडीको ४ सय रुपैयाँ अतिरिक्त शुल्क लिन सुरु गरिएको छ । साथै, ठूलो भर्याङ र चाबहिलको ट्रायल सेन्टरले पनि रकम उठाउन सुरु गरेका छन् । एकान्त कुनाले भने अतिरिक्त शुल्क लिएको छैन ।

महानिर्देशक दाहालले नियम विपरित विभिन्न ट्रायल सेन्टरले अतिरिक्त शुल्क लिने गरे पनि त्यसमा प्रदेश सरकारले कुनै कारवाही अघि नबढाएको बताए । 

‘ट्रायल गर्दा राजश्व बाहेकको अतिरिक्त शुल्क लिन पाईदैन, त्यसरी लिन पाउने कुरा कतै उल्लेख छैन, यसको नियमन र कारवाही गर्ने जिम्मा प्रदेश सरकारको हो,’ दाहालले मेरोअटोसँग भने । 

त्यसैगरी प्रदेश ३ को भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका महाशाखा प्रमुख यादव आचार्यले शुल्क लिनु हुन्न भन्ने कतै नलेखेको बताए । उनले सम्झौतामा उल्लेख भए अनुसार नै ट्रायल सेन्टर र ट्रायल गर्दा प्रयोग हुने गाडीको शुल्क लिने गरेको बताए । 

‘हामीले सम्झौता अनुसार ट्रायल गर्दा उपलब्ध गराएको स्थान र सवारीको शुल्क लिन दिएका छाँै, यो कानुन विपरित हैन, कानुन मै यस्तो छ,’ महाशाखा प्रमुख आचार्यले मेरोअटोसँग भने । 

यसले नयाँ लाईसेन्स लिन ट्रायल दिनेहरुले अतिरिक्त रकम खर्च गर्नु पर्ने भएको छ । 



image not found