रेल निर्माण उच्च प्राथमिकतामा, ७ अर्ब ७० करोड बजेट बिनियोजन

काठमाडौं । सरकारले रेलमार्गलाई उच्च प्राथमिकता दिएको छ । रेलमार्गहरुको निर्माणलाई ७ अर्ब ७० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी अर्थिक वर्षका लागि रेल मार्ग बनाउन उक्त रकम विनियोजन गरेका हुन् । 

चालू आर्थिक वर्षका लागि रेलमार्ग निर्माणका लागि गत वर्ष ४ अर्ब रुपैयाँ बजेट विनियोजन भएको थियो । उक्त बजेट मुख्य गरि रेलमार्गको जग्गा अधिग्रहण लगायतका काममा खर्च हुनेछ । 

पूर्व–पश्चिमसहित अन्य रेलमार्गलाई प्राथमिकतामा राखेर बजेट आएको छ । रेल विभागले करिब २० अर्ब रुपैयाँ बजेट माग गरेको थियो । रक्सौल–काठमाडौं र केरुङ–काठमाडौं जोड्ने रेल अनुदानमा बनाइदिन नेपालले भारत र चीनसामू प्रस्ताव गरेको छ । 

दुबै अन्तरदेशीय रेलमार्गलाई अघि बढाउन डीपीआर तयार गर्न यसै वर्षको बजेट खर्च गर्ने योजना छ । यस्तै काठमाडौं–लुम्बनी र काठमाडौं–पोखरा जोड्ने रेल, काठमाडौंमा मोनो वा मेट्रो रेल पनि सरकारको प्राथमिकतामा छ । 

बजेटमा जनकपुर–जयनगर र जोगबनी–बिराटनगर ब्रोडगेज रेलमार्गमा रेल चलाउने गरी आगामी वर्षमा काम गर्ने योजना सरकारको छ ।


Back_to_top