अब उपत्यकामा दिनभर मालबाहक सवारीसाधनलाई प्रबेश निषेध

Not found

काठमाडौं । काठमाडौं उपत्यकामा दिउँसोको समयमा कुनैपनि मालबाहक सवारी चलाउन नपाइने भएको छ । असार १ गतेबाट उपत्यकामा विहानदेखि बेलुकासम्म सबैखाले मालबाहक सवारी चलाउन तथा नाकाबाट प्रवेश समेत रोकिने भएको हो । 

बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म रिङरोडसहित विभिन्न नाकाबाट मालवाहक सवारी ल्याउन नपाइने भएको छ । काठमाडौंको सवारी चाप, दुर्घटना लगायत विषयलाई ध्यानमा राखेर मालबाहक सवारी चलाउन रोक लगाइएको यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालले जानकारी दिए । 

यो व्यवस्था सार्वजनिक बिदाका दिन भने लागू नहुने यातायात व्यवस्था विभागले जनाएको छ । अत्यावश्यक सेवामा प्रयोग भएका मालबाहक सवारीलाई भने यो नियम लागु हुने छैन । 

विभागको सूचना अनुसार दूध, तरकारी, फलफूल, पानी, कुखुराका चल्ला, पेट्रोलियम पदार्थ, लगायतका सामग्री बोकेका सवारी बाहेका अन्य सबै मालबाहक सवारीलाई विहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म तोकिएका स्थान बाहेज चलाउन रोक लगाइएको छ । 

काठमाडौंको मुख्य नाकामा सवारीको अत्यधिक चाप भएपछि यस्तो कदम चालिएको विभागको भनाई छ । काठमाडौं उपत्यकाभित्र मालबाहक सवारीको संख्या बाक्लिँदै गर्दा त्यसले रिङरोड क्षेत्रमा पनि जाम बढेकाले नाकाहरुमै रोक्ने गरी निर्णय गरिएको महानिर्देशक दाहालले बताए । 

काठमाडौं र ललितपुरको चक्रपथभित्रको सबै क्षेत्र र भक्तपुरको भित्री शहरी क्षेत्रमा पनि यो प्रावधान लागू हुनेछ । त्यसैगरी चक्रपथ बाहिरको चाबहिल–जोरपाटी सडक, गोपीकृष्ण–कपन सडक, नारायणगोपाल चोक–बुढानीलकण्ठ सडक, बालाजु बाइपास–गोलढुंगा सडक, बगडोल–नख्खु सडक, सातदोबाटो–हरिसिद्धी सडक, ग्वार्को–चापागाउँ सडकमा विहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म मालबाहक सवारी चलाउन पाइने छैन ।  

विभिन्न नाकाबाट काठमाडौं प्रवेश गर्न सवारीहरु काठमाडौं नजिकै रोकिनु पर्ने भएको छ । हाल काठमाडौंको रिङरोड भित्र ठूला मालबाहक सवारीलाई मात्र प्रवेश रोक लगाईदै आएको छ ।



image not found