एसयूभी विक्रेताबीच कडा प्रतिस्पर्धा, कुन कम्पनीको आयात कति

काठमाडौं । आर्थिक वर्ष २०७४/७५ मा ८ हजार २७६ यूनिट यूटिलीटी भेइकल आयात भएकोमा गत आर्थिक वर्ष २०७५/६७ मा ८ हजार १७६ यूनिट आयात भएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १०० यूनिटले कम हो ।

यद्यपी स्पोर्ट यूटिलिटी भेइकल (एसयूभी) पछिल्लो समय नेपाली बाटामा निकै बाक्लो रुपमा गुडेको पाउन सकिन्छ । त्यसको प्रमुख कारण हो नेपाली बाटो र अन्तर्राष्ट्रिय स्तरमा एसयूभी प्रतिको बढ्दो क्रेज ।

नेपाली सडकमा महिन्द्रा, टोयोटा र निसान कम्पनीले उत्पादन गरेका एसयूभीहरु सुरुमा निकै चर्चित बने । हाम्रो खराब सडक र कठिन भौगोलिक अवस्थाका कारण यस्ता गाडीहरु चर्चित भएका थिए ।

अव बजारमा कम्प्याक्ट र सव कम्प्याक्ट एसयूभीको बीचमा पनि निकै कडा प्रतिस्पर्धा भइरहेको छ ।

नेपाली बजारमा आर्थिक वर्ष २०७५/७६ मा सबैभन्दा धेरै यूटिलीटी भेइकल बिक्री गर्ने कम्पनी महिन्द्रा भएको छ । कम्पनीले बिक्री गर्दै आएको चर्चित एसयूभी स्कोर्पियो, बलेरो, एक्सयूभी ५०० र टीयूभी ३०० जस्ता गाडीले कुल एसयूभीको २८ प्रतिशत बजार हिस्सा ओगटेको छ । महिन्द्राको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटले यूटिलीटी भेइकलको रुपमा २ हजार २६८ यूनिट गाडी आयात गरेको तथ्याङ्कले देखाएको छ ।

दोस्रो स्थानमा हुन्डाईको यूटिलीटी भेइकल रहेको छ । कम्पनीले १५ प्रतिशत बजार हिस्सा आफ्नो भागमा पारेको छ । आर्थिक वर्ष २०७५/७६ मा १ हजार २७४ यूनिट एसयूभी आयात गरेको तथ्यांकले देखाएको छ । कम्पनीले आयात गरेको सबैभन्दा धेरै यूनिट गाडी क्रेटा हो भने यो सेग्मेन्टमा टुसान र शान्ताफेपनि परेको छ ।

नेपाली बजारमा हुन्डाईका गाडी लक्ष्मी इन्टरकन्टिनेन्टल्सले बिक्री वितरण गर्दै आएको छ । साथै, क्रेटा नेपाली बजारमा आएसँगै सर्वाधिक बिक्री हुने एसयूभी समेत रहँदै आएको छ । यस तथ्याङ्कमा कम्पनीले ल्याएको कोना इभीलाई यहाँ जोडिएको छैन ।

सर्वाधिक धेरै यूटिलीटी भेइकल आयत गर्ने कम्पनीको सूचीमा मारुती सुजुकी तेस्रो स्थानमा रहेको छ । कम्पनीले १२ प्रतिशत बजार हिस्सा ओगट्दा गत आर्थिक वर्षमा ९७९ यूनिट गाडी आयात गरेको छ । त्यसमा सबैभन्दा ठूलो हिस्सा भिटारा ब्रेजाको रहेको छ ।

चौथो स्थानमा रहेको टाटाले १० प्रतिशत बजार ओगटेको छ । कम्पनीको चर्चित सब कम्प्याक्ट एसयूभी नेक्सन सबैभन्दा धेरै आयात भएको देखिएको छ भने हेग्जा र सुमोपनि कम्पनीले आयात गर्दै आएको छ ।

सिप्रदी ट्रेडिङ्गले नेपाली बजारमा बिक्री वितरण गर्दै आएको टाटाका यूटिलीटी भेइकल गत आर्थिक वर्षमा ८३८ यूनिट आयात भएको छ ।

सर्वाधिक एसयूभी आयात गर्ने सूचीमा पाँचौँ स्थानमा फोर्ड रहेको छ । नेपालको आधिकारीक वितरक जिओ फोर्डले यो सेग्मेन्टमा इकोस्पोर्ट र इन्डोभर आयात गर्दै आएको छ । कम्पनीको यस सेग्मेन्टमा बजार हिस्सा ७ प्रतिशत रहेको छ ।

यी दुबै मोडल मिलाएर फोर्डले गतवर्ष ५४८ यूनिट एसयूभी आयात गरेको छ । यसमा सबैभन्दा धेरै हिस्सा इकोस्पोर्टको रहेको छ ।

सूचीको छैटौँ स्थानमा टोयोटा परेको छ । कम्पनीले अधिकांश सवारीसाधन नै एसयूभीको रुपमा बिक्री वितरण गर्दै आइरहेको छ । यस अवधिमा कम्पनीले ४४४ यूनिट एसयूभी आयात गर्दै ५ प्रतिशत बजार हिस्सा ओगटेको छ ।

५ प्रतिशत बजार हिस्सासँगै निसानले पनि यो वर्ष आफ्नो बिक्री बढाएको छ । उसले गत आर्थिक वर्षमा ३८६ यूनिट यूटिलीटी भेइकल आयात गरेको छ । कम्पनीले पुरानो टेरानो, नयाँ किक्स, एक्सट्रायल जस्ता मोडल ल्याएको हो । यी गाडीको आयतसँगै निसान ७ औँ धेरै एसयूभी आयात गर्ने ब्राण्ड भएको छ ।

रेनोको क्याप्चर र डस्टरको आयात गर्दै आएको रेनोसँग ३ प्रतिशत बजार हिस्सा रहेको छ । यो बजार हिस्सासँगै कम्पनी आठौँ धेरै एसयूभी आयात गर्ने सूचीमा परेको हो । कम्पनीले गत आर्थिक वर्षमा २५८ यूनिट एसयूभी आयात गरेको छ ।

२ प्रतिशत बजार हिस्सासहित सूचीको नवौँ स्थानमा जीपको कम्पास परेको छ । कम्पनीले गत आर्थिक वर्षमा १८२ यूनिट कम्पास आयात गरेको देखिन्छ ।

यस अवधीमा कियाले ८३ यूनिट एसयूभी ल्याएको थियो जुन १ प्रतिशतकाे बजार हिस्सा सहित दसाैं स्थानमा परेकाे छ  । उसले ल्याएको इलेक्ट्रीक एसयूभी यहाँ जोडिएको छैन ।

होन्डाले ५९ यूनिट एसयूभी ल्याउँदा यही सेग्मेन्टमा अन्य बिभिन्न कम्पनीकाे १२ प्रतिशत बजार ओगटेका छन् । विभिन्न कम्पनीले ल्याएका एम्बुलेन्सको संख्या ४१० यूनिट रहेको छ ।

 


Back_to_top