भ्यूटावर निर्माणको सम्पूर्ण काम रोकियो, गुणस्तर जाँच्न बिज्ञ खोज्दै महानगर

Not found

काठमाडौं । पुरानो बसपार्क रहेको जग्गामा बन्न लागको काठमाडौं भ्यूटावर निर्माणको गुणस्तर निरिक्षणका लागि कन्सलटेन्ट नियुक्त गरिने भएको छ । भ्यूटावर निर्माण विश्वसनीय हुने आधारको खोजी गर्न काठमाडौं महानगरपालिकाले कन्सलटेन्ट राख्न लागेको हो । 

उक्त कन्सलटेन्टले निर्माण हुँदै गरेको भ्यूटावरको गुणस्तर ठिक छ वा छैन, समय अवधि भित्र सकिन्छ वा सकिदैन, समय अवधिमै सक्न कम्पनीका योजना तथा सम्पन्न गर्न सकिने विश्वसनीय आधारहरु खोज्ने भएको हो । 

महानगरका प्रवक्ता इश्वरमान डंगोलका अनुसार हाल कन्सलटेन्ट नियुक्तीे प्रस्ताव प्रस्ताव प्रमुख प्रशासकिय अधिकृतको टेबुलमा पुगेको छ । सो प्रस्ताव स्वीकृत भएर आएलगतै कन्सलटेन्ट माग गरिन उनले जानकारी दिए । 

उनका अनुसार प्रस्ताव आवहान गरेर कन्सलटेन्टमा महानरका एक र निर्माण कम्पनीका एक प्रतिनिधिसहित कन्सलटेन्ट माग गरिने छ । ‘हामी निष्पक्ष रुपमा भ्यूटावर निर्माणको निरिक्षणको तयारी गरिरहेका छौँ, त्यसका लागि कन्सलटेन्ट चाँडै हायर गरिनेछ,’ प्रवक्ता डंगोलले मेरोअटोसँग भने । 

कन्सलटेन्टको रिपोर्ट अनुसार भ्यूटावर निर्माण गरिने उनले बताए । डंगोलका अनुसार कम्पनीले चाहेको खण्डमा परिक्षणका अवधिमा पनि भ्यूटावर निर्माणलाई निरन्तरता दिन सक्ने छ । 

हाल भ्यूटावर निर्माणको कुनै काम आफ्नो तर्फबाट नभएको भ्यूटावर निर्माण कम्पनी प्रमुख मनोज भेटुवालले जानकारी दिए । उनले भ्यूटावर निर्माणको विषयमा केही बोल्ने इच्छा नभएको भन्दै अहिले कुनैपनि काम अगाडि नबढेको बताए । 

भ्यूटावर निर्माणका लागि कामपा र जलेश्वर, स्वच्छन्द र बिकोइ कम्पनीबीच २०७१ फागुन २२ मा सम्झौता भएको थियो । सम्झौता भएको झन्डै १ वर्षपछि निर्माण सुरु भएको काठमाडौं भ्यूटावर २०७७ सालसम्ममा निर्माण सम्पन्न गर्नु पर्नेछ । 

करिब ५ महिना अघिसम्म तिब्र गतिमा काम भएको भ्यूटावर हाल सबै काम ठप्प रहेको छ । यसले २०७७ सालसम्म खुल्ला मञ्चमा अस्थाई रुपमा रहेको बसपार्क भ्यूटावरको अन्डर ग्राउन्डमा सार्ने योजना विथोलीने भएको छ । 

३० वर्षका लागि महानगरको उक्त जग्गा भाडामा लिएर कम्पनीले भ्यू–टावर निर्माण गरिरहेको छ । सम्झौताको ५ वर्षसम्म निर्माण अवधि राखिएको उक्त स्थानको भाडा निर्माणको क्रममा वार्षिक १ करोड रुपैयाँ भाडा तिर्नुपर्नेछ । त्यस्तै, निर्माण सकिएपछि उक्त ठाउँको भाडा वार्षिक २ करोड ४५ लाख रुपैयाँ महानगरलाई बुझाउनु पर्नेछ । 

भ्यूटावर निर्माणको कुल लगानी साढे ७ अर्ब रुपैयाँको हाराहारीमा रहेको छ । टावरका लागि २३ रोपनी ५ आना जग्गा छुट्याइएको छ । जसमध्ये ४० प्रतिशत भू–भागमा भवन बन्नेछ भने ६० प्रतिशत भाग खाली राखिनेछ ।

हालसम्म भ्यूटावर निर्माण कम्पनीले निर्माणको लागि १ अर्ब ७० करोड रुपैयाँ भन्दा बढी रकम खर्च भइसकेको जनाएको छ । यस्तै महानगरले भने भ्यूटावर निर्माण समयमै सम्पन्न नभए सम्बन्धित कम्पनीलाई कारवाहीको दायरामा ल्याइने बताउदै आएको छ ।



image not found