काठमाडौं । सिधा भन्दा लाइडार एक रिमोट सेन्सिङ प्रविधि हो । यसले लेजर लाइटको प्रयोग गरेर वरपरको रहेका वस्तुको दुरी मापन गर्छ । आफ्नो वरपरको थ्रीडी म्याप बनाउने लाइडार प्रविधिको प्रयोगले सुरक्षित ड्राइभिङ र अटोनोमस ड्राइभिङ सिस्टमलाई सहयोग गर्छ ।
पछिल्लो समय कारहरूमा प्रयोग भएको एड्भान्स ड्राइभर असिस्ट सिस्टम (एडास) र अटोनोमस प्रविधिका कारहरूको मुख्य आँखाको रूपमा लाइडारले काम गर्छ । लाइडार प्रविधिले क्यामरा वा राडारको तुलनामा ‘एकुरेट डाटा’ निकाल्छ ।
लाइडार प्रविधिले खराब मौसम वा रातीको अँध्यारो दुवै अवस्थामा पनि उत्कृष्ट काम गर्छ । यही प्रविधिको सहयोगमा आधुनिक कारले अडाप्टिभ क्रुज कन्ट्रोल, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ सिस्टमको प्रयोग व्यापक बनाएका हुन् ।
लाइडारले कसरी काम गर्छ ?
लाइडार प्रविधि सामान्य सिद्धान्तमा आधारित हुन्छ । यो सिद्धान्तलाई ‘टाइम अफ फ्लाइट’ (टीओएफ) भनिन्छ । लाइडारले कारलाई सुरक्षित तरिकाले कमाण्ड दिने क्रमम निम्न प्रक्रिया पूरा गर्छ ।
१. लेजर उत्सर्जन
लाइडार सेन्सरमा रहेको ट्रान्समिटरले आफ्नो वरिपर लेजर प्रकाशको छोटो पल्सहरू पठाँउछ । यी पल्सहरू प्रायः इन्फ्रारेड प्रकाशका हुन्छन् । लाइडार सेन्सर प्रायः कारको छतमा राखिएको हुन्छ ।

२. रिफ्लेक्सन
माथिल्लो प्रक्रियामा उत्सर्जन भएका पल्सहरू सडकमा भएका गाडीहरू, पैदल यात्रीहरू, भवनहरू वा सडक चिह्न जस्ता वस्तुहरूमा ठोकिएर रिफ्लेक्सन (परावर्तन) भई सेन्सरमा फर्किन्छन् ।
३. टाइम मापन
तेस्रो चरणमा लाइडार प्रणालीमा रहेको रिसिभरले प्रकाश पठाएको समय र त्यो प्रकाश रिफ्लेक्सन भएर फर्किएर आएको समय बीचको अन्तरलाई र्यापिड फास्ट स्पीडमा मापन गर्छ । यसलाई ‘टाइम अफ फ्लाइट’ पनि भनिन्छ ।
४. दुरीको गणना
लेजर प्रकाशको गति स्थिर हुने भएकोले प्रकाश जान र आउन लागेको समयलाई आधार मानेर वस्तु र कार बीचको प्रिसाइज डिस्ट्यान्सको हिसाबकिताब हुन्छ ।
५. थ्रीडी म्याप क्रियसन
थ्रीडी म्याप निर्माण प्रक्रिया प्रतिसेकेण्ड लाखौं पटक भइरहेको हुन्छ । यसरी मापन गरिएको लाखौं डिस्ट्यान्स डटहरूको समूहले वरपरको वातावरको एक थ्रीडी डट क्लाउड सिर्जना गर्छ । कारमा रहेको प्रोसेसिङ युनिटले उक्त डट क्लाउडलाई प्रोसेस गरेर वस्तुहरूको आकार, गति र दिशा पहिचान गर्छ ।
अन्त्यमा यही थ्रीडी नक्साको मद्दतले कारले सडकमा रहेको खतराहरूलाई पहिचान गरी, लेन ट्रयाक गर्ने र सुरक्षित रूपमा गाडी चलाउन सहयोग गर्नेछ ।

