निजगढ विमानस्थलः जुरिच इन्टरनेशनललाई ४५ दिन भित्र ठोस प्रस्ताव ल्याउन आह्वान

काठमाडौं । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि प्रस्ताव पेश गर्ने कम्पनीहरु मध्येमा एउटा मात्र कम्पनीले आवश्यक मापदण्ड पूरा गरेको छ ।

सो विमानस्थल निमार्णको लागि नेपालीसहित ७ कम्पनीले प्रस्ताव पेश गरेका थिए । प्रस्ताव पेश गर्ने कम्पनीहरु मध्येमा जुरिच इन्टरनेशनल एयरपोर्ट (एजी) मात्र योग्य देखिएको लगानी बोर्डले जनाएको छ ।

यो स्वीजरल्याण्डको जुरिच एयरपोर्टको स्वामित्वमा रहेको कम्पनी हो । यसले विश्वका विभिन्न देशका विमानस्थलहरुको  सञ्चालन र व्यवस्थापनको काम पनि गर्छ ।

यो विमानस्थल बनाउन नेपाली कम्पनी म्याट्रिक्स इन्टरप्राइजेजसहित चीनका चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ र चाइना एयरपोर्ट कन्स्ट्रक्सनले प्रस्ताव पेश गरेका थिए ।

यस्तै भारतीय कम्पनी जीएमआर र फ्रान्सको भिन्ची एयरपोर्टले पनि विमानस्थल बनाउन प्रस्ताव पेश गरेका थिए । यी सबै कम्पनीहरुले आवश्यक मापदण्ड पूरा गर्न नसकेकोले अयोग्य ठहरिएको बोर्डले जनाएको छ ।

अघिल्लो वर्ष चैत महीनामा भएको लगानी सम्मेलनमा सरकारले लगानी सम्मेलनका क्रममा निजगढमा अन्तर्राष्ट्रिय एयरपोर्ट निर्माणका प्रस्ताव माग गरेको थियो ।

बोर्डले विमानस्थल बनाउन योग्य देखिएको जुरिचसँग विमानस्थल निर्माणका लागि विस्तृत प्रस्ताव माग गर्ने निर्णय गरेको छ । विमानस्थलको विस्तृत परियोजना प्रस्तावका लागि बोर्डले कम्पनीलाई ४५ दिनको समयावधि दिइएको छ ।

अन्तर्राष्ट्रिय मापदण्डको विमानस्थल निर्माणको लागि ३ अर्ब अमेरिकी डलर लागत लाग्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । कूल आठ हजार हेक्टर क्षेत्रफलमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्नेछ । तीन हजार ६०० मिटर लामो र ४५ मिटर फराकिलो धावनमार्ग निर्माण गरिनेछ ।


Back_to_top