गाडीको शोरुममा दशैंको रमझम, ग्राहक आकर्षित गर्न यस्ता छन् अफर

काठमाडौं । भित्तामा टाँसिएका चङ्गा, शोरुम भित्रै बनाइएका पिङ तथा टाँगिएका ध्वजापत्ताले सिंगारिएको गाडी शोरुमले जो कोहीको मन सहजै लोभ्याउँछ । यतिबेला, विशेषगरेर साना प्यासेन्जर कार बिक्रेता कम्पनीका सबै शोरुम यसैगरि सजाइएको छ ।

फोर्ड, निसान, ड्याट्सन, हुन्डाई, टोयोटा, मारुती सुजुकी, हुन्डाई, महिन्द्रा, टाटालगायतका कम्पनीको शोरुम भित्र यस्तै दृश्य देख्न सकिन्छ । सवारी बिक्रेता कम्पनीले शोरुमलाई आकर्षक बनाउन कुनै कसर बाँकी छोडेका छैनन् । उपभोक्ताको ध्यान आकृष्ट गर्न सजावटले निक्कै भूमिका खेल्ने कम्पनीहरुको बुझाई छ । साथै, शोरुम भित्र अघिपछिका दिनभन्दा कार नियाल्ने ग्राहकको संख्या समेत बढेको प्रष्टै देखिन्छ ।

सवारी बिक्रेता कम्पनीले चाडपर्वलाई नै मध्यनजर गरेर थुप्रै योजना बनाएका हुन्छन् । भन्नुपर्दा, सवारी साधनको व्यापार हुने मुख्य समय नै यही हो । यही मौकामा कम्पनीले आफ्नो वार्षिक लक्ष्यको करिब ५० प्रतिशतसम्म बिक्री गर्नेछन् । उपभोक्ता पनि नयाँ सवारी किन्नका लागि चाडपर्वकै मौका खोजिरहेका हुन्छन् ।

यतिमात्रै नभई, शोरुमका भित्तामा चाडपर्वलाई ध्यानमा राखेर ल्याइएका अफर आकर्षक रुपमा टाँसिएका छन् । सुनका सिक्का प्रदान गर्नेदेखि, आकर्षक छुट तथा विदेश भ्रमणसम्मका योजनामार्फत ग्राहकलाई तान्ने कोशिस प्रत्येक कम्पनीले गरिरहेका छन् ।  

टाटाले घुमाउने छ सिंगापुर

टाटा मोटर्सले कार खरिद गर्ने ग्राहकलाई आकर्षक क्यास डिस्काउटका साथै भाग्यशाली एक जोडीलाई सिंगापुर भ्रमणमा पठाउने भएको छ । कार बुकिंग गर्ने ग्राहकमध्येबाट छनौटमा परेकालाई ६५ इन्चको टेलिभिजन, वासिंग मेसिन र स्मार्टफोनसँगै स्मार्ट वाच, आइफोन एक्सआर मध्ये एक गिफ्ट ह्याम्पर प्रदान गर्ने योजना ल्याएको छ ।

हुन्डाई मोटर्स

हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले चाडपर्वलाई ध्यानमा राख्दै ‘हुन्डाई फेस्टिभ डिलाइट २०७६’ सार्वजनिक गरेको छ । कम्पनीले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै आकर्षक ग्राहक योजना ल्याएको हो । भदौ २ गतेदेखि सुरु भएको यो योजना आगामी कात्र्तिक १६ गतेसम्म चल्ने कम्पनीले जनाएको छ ।

कम्पनीको योजना अन्तर्गत ग्राहकले स्क्रयाच कार्डमार्फत १ लाख रुपैयाँसम्मको नगद छुट पाउने छन् । यस्तै, लक्की–ड्र मार्फत १० जोडीलाई ४ रात ५ दिनको दुबई भ्रमणको अवसर प्रदान गरिने कम्पनीले जनाएको छ ।

बम्पर उपहार अन्तर्गत ग्राहकले लक्की–ड्र मार्फत हुन्डाई सेन्ट्रो र हुन्डाई भेन्यू कार एक–एक थान जित्न सक्ने छन् । यस्तै, नयाँ योजना अनुरुप ग्राहकले आकर्षक नगद छुट र एक वर्षको निःशुल्क बीमा सुविधा पाउने छन् ।

हुन्डाईको सबै गाडीमा ३ वर्ष वारेन्टी र ४ वर्ष निःशुल्क सर्भिसिङका साथै निःशुल्क सवारी कर भुक्तानी सहितको सुविधा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

सुजुकीको पर्वाेत्सब


सुजुकी भिजिले चाडर्वलाई  लक्षित गर्दै सार्वजनिक गरेको पर्वाेउत्सब अफर अन्र्तगत प्रत्येक कारमा दुइ लाखसम्म छुट दिने योजना ल्याएको छ । 

कम्पनीको जुनसुकै कार खरिद गर्ने ग्राहकलाई १ वर्षको रोड ट्याक्स निःशुल्क गर्नुका साथै इ स्क्राच कार्ड मार्फत १ लाखसम्म अतिरिक्त छुट गर्ने भएको छ । एक्सचेन्ज बोनस अन्तर्गत कार सट्टापट्टा गर्दा १ लाखसम्म बोनस दिने कम्पनीले जनाएको छ । 

टोयोटाको भारी छुट


युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालिले चाडपर्वलाई लक्षित गर्दै टोयोटा रस खरिद गर्दा ३ लाख ५० हजार छुट दिने योजना ल्याएको छ ।

हाल, ७३ लाख ५० हजार रुपैयाँमा बिक्री भइरहेको मिड अटोमेटीक रस अब ७० लाखमै उपलब्ध हुने भएको छ । अटोमेटीक र म्यानुअल दुवै ट्रान्समिसनमा उपलब्ध रस ४ भेरियन्टमा उपलब्ध रहेको छ ।

होन्डाको कारमा दश लाखसम्म छुट


यस्तै, स्याकार ट्रेडिङ्ग प्रालिले सबै मोडलमा एक लाखदेखि दश लाखसम्म नगद छुट दिने भएको छ । आफ्ना सबै कारमा एक वर्षे इन्स्योरेन्स र निःशुल्क सडक कर, एक वर्षसम्म निःशुल्क एसोसरिज उपलब्ध गराउने योजना कम्पनीले अगाडि ल्याएको छ । यस अवधिमा कार खरिद गर्ने ग्राहक मध्येबाट स्क्राच कार्डमार्फत छनोटगरि १० जनालाई विभिन्न मुलुक घुमाउने कम्पनीले जनाएको छ । यसरी छानिएका भाग्यशाली १० ग्राहकले दुई रात तीन दिनको दुबई र थाइल्यान्डको भ्रमण गर्न पाउने छन् ।

निशान/ड्याट्शनको कारमा पाँच लाख छुट


कम्पनीले निसान र ड्याट्सन ब्राण्डका सबै कारमा प्रदान गर्नेगरि फेस्टिभ अफर ल्याएको छ ।  यस याेजना अन्र्तगत, कारको खरिदमा ५ पाँच लाखसम्मको छुट दिने भएको छ । फेस्टिभ ड्राइभ क्यास डिस्काउन्ट अन्तर्गत ३ लाखसम्म नगद छुट दिनुका साथै १ लाख रुपैयाँसम्मको फ्रि एसोसरिज, एक वर्षसम्मको निःशुल्क सडक कर, तीन वर्षको वारेन्टी र सर्भिसिङको सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

बीवाइडीले गर्नेछ दशैंमा घर सफा

यस्तै, साइमेक्स इंक प्रालिले इलेक्ट्रीक कार बीवाइडी किन्ने ग्राहकको घर सफा गरिदिने भएको छ । बिवाइडीले इलेक्ट्रीक कार एम–३ र अर्काे कार इ–६ मा मेगा बम्पर अफर ल्याएको हो । यी मोडलका इलेक्ट्रीक कार खरिद गर्न चाहने ग्राहकले एक वर्षसम्मको निःशुल्क इन्स्योेरेन्स, एक्सचेन्ज अफर, ८० प्रतिशतसम्मको फाइनान्स सुविधा पाउने छन् ।

त्यसैगरी बिवाइडीको चार्जिङ स्टेशनबाट एक वर्षसम्म निःशुल्क चार्जिङ सुविधा, निःशुल्क होम चार्जरको अफर ल्याएको छ । स्क्राच कार्डमार्फत ५० हजारसम्मको एडिडासका ब्राण्डेड सामान खरिद गर्ने सफिङ भउचरको साथै मेगा अफरमा एक जोडीलाई ११ दिनको युरोप भ्रमणको मौका पाउने कम्पनीले जनाएको छ ।

फोर्डको ‘सिधै क्यास, नो वकवास’


कम्पनीको ‘सिधै क्यास, नो बकवास’ अफर अन्र्तगत कार खरिद गर्ने ग्राहकले तीन ओटासम्म स्क्राच कार्ड कोट्याउन पाउने छन् । स्क्राच कार्ड मार्फत अधिकतम ३ लाख छुट पाउने कम्पनीले जनाएको छ । क्यास डिस्काउन्टसँगै इन्स्योरेन्समा छुट र लोयलीटी बोनस प्रदान गर्ने योजना कम्पनीले अगाडि ल्याएको हो ।


Back_to_top