भारतीय कम्पनी रेभोल्ट इलेक्ट्रीकले उत्पादन गरेको रेभोल्ट इलेक्ट्रीक मोटरसाइकलले निकै राम्रो बजार पाउन सुरु गरेको अटो मिडिया रसलानेले दाबी गरेको छ । मिडिया रिपोर्ट अनुसार कम्पनीको उत्पादन आगामी दुई महिनाको लागि सोल्ड आउट भएको जनाएको छ ।
नेपाली बजारमा समेत यो मोटरसाइकल ल्याउन विभिन्न व्यवसायीक घरानाले प्रकृया अगाडि बढाएको थाहा हुन आएको छ । यदी नेपाली बजारको माग अनुसार मोटरसाइकल दिने अवस्था बनेको खण्डमा केही महिनाभित्रै रेभोल्टका इलेक्ट्रीक मोटरसाइकल नेपाली सडकमा गड्ने छन् ।

भारतीय बजारमा अब बुकिङ गर्ने ग्राहकले नोभेम्बर अन्त्यसम्म डेलिभरी पाउने जनाइएको छ । अहिले कम्पनीले आफ्नो इलेक्ट्रीक मोटरसाइकल दिल्ली र पुणेमा मात्र बिक्री वितरण गर्दै आएको छ ।
यस्ता छन् विशेषता
रेभोल्ट इन्टेलीकर्पले भारतकै पहिलो इलेक्ट्रीक मोटरसाइकल रेभोल्ट आरभी ३०० र आरभी ४०० उत्पादन गरिरहेकाे छ ।
कम्पनीले ल्याएको यी दुबै बाइकमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेकाे छ । मोवाइल एपबाटै यसमा रहेको हाईटेक फिचरहरु कन्ट्रोल गर्न सकिने कम्पनीले दाबी गरेको छ ।
कम्पनीे रेभोल्ट आरभी ४०० मा ७२ भोल्ट, ३.२४ किलोवाट आवरको लिथियन आयन ब्याट्री प्रयोग गरेको छ । साथै, रेभोल्ट आरभी ३०० मा २.३ किलोवाट आवरको ब्याट्री दिइएको छ ।
कम्पनीले ल्याएको दुबै मोटरसाइकलको रेञ्ज ८० देखि १८० किलोमिटरसम्म रहेको छ । ड्राइभिङ मोड अनुसार फरक माइलेज पाउन सकिन्छ । आरभी ४०० मा ३ किलोवाटको मोटर जडान भएको छ भने आरभी ३०० मा १.५ किलोवाटको मोटर दिइएको छ ।
आरभी ४०० लाई ८५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा गुडाउन सकिन्छ भने आरभी ३०० को टप स्पीड ६५ किलोमिटर प्रतिघन्टा रहेको छ ।
कम्पनीले आरभी ४०० र ३०० दुबै बाइकको अगाडि अपसाइड डाउन फर्क र पछाडी एड्जस्टेवल मोनोशक दिएको छ ।
रेभोल्ट आरभी ४०० को अगाडि र पछाडिका दुबै चक्कामा २४० एमएमको डिस्क ब्रेक दिइएको छ भने आरभी ३०० को अगाडि चक्कामा २४० एमएम र पछाडीको चक्कामा १८० एमएमको डिस्क ब्रेक दिइएको छ ।
रेभोल्ट आरभी ४०० को ग्राउन्ड क्लियरेन्स २१५ एमएम रहेको छ भने आरभी ३०० को ग्राउन्ड क्लियरेन्स २२५ एमएम रहेको छ । तौलको कुरा गर्दा आरभी ४०० को ३०० भन्दा केही बढी छ । एउटाको तौल १०८ केजी छ भने अर्कोको १०१ केजी रहेको छ ।
दुबै मोटरसाइकलमा तीन ड्राइभिङ मोड रहेका छन् । जसमा इको, नर्मल र स्पोर्ट ड्राइभिङ मोड दिइएको छ । भारतीय बजारमा आरभी ४०० को मूल्य १ लाख २९ हजार र आरभी ३०० को मूल्य १ लाख १० हजार भारु तोकिएको छ ।


