छ महिना भित्र ४ नयाँ कार ल्याउँदै हुन्डाई

काठमाडौं । दक्षिण कोरियाको अटोमोबाइल्स कम्पनी हुन्डाईले भारतीय बजारलाई आधार बनाएर २०२० मा चार नयाँ मोडल ल्याउने तयारी गरिरहेको छ । कम्पनीले नयाँ सब कम्प्याक्ट सेडान कारदेखि प्रिमियम ह्याचब्याक सेग्मेन्टका कार सार्वजनिक गर्ने भएको हो ।

हुन्डाईले यसरी भारतीय बजारलाई आधार बनाएर ल्याउने चारवटै कार नेपाली बजारमा आउने छन् । त्यसैले यसको विषयमा यहाँ हामीले केही चर्चा गर्ने जमर्को गरेका छौं ।

हुन्डाई अउरा

हुन्डाईले २०२० को जनवरीमा बजारमा ल्याउने यो कम्प्याक्ट सेडान कार हो । कम्पनीको योजनामा रहेका चार कारमध्ये सबैभन्दा पहिला सार्वजनिक हुने अउराको लम्बाई चार मिटर भन्दा कम हुने कम्पनीले जनाएको छ ।

अउरा, ग्रान्ड आई १० नियोसमा आधारित रहेर उत्पादन गरिएको सेडान कार हो । डिजाइन, लुक्स तथा मूल्यका आधारमा मारुती डिजायर र होन्डा अमेजसँग यसको सिधा प्रतिस्पर्धा हुने जनाइएको छ ।

यसमा १.२ लिटर पेट्रोल र डिजेल दुबै इन्जिन अप्सन दिइएको छ । यसमा ८ इन्चको टचस्क्रिन इन्फोटेनेमेन्ट सिस्टमको साथै वायरलेस स्मार्टफोन चार्जिङ लगायतका स्मार्ट फिचर्स दिइएको अनुमान गरिएको छ ।

भर्ना फेसलिफ्ट


केही समय अगाडिमात्रै चीनमा सार्वजनिक भएको भर्नाको फेसलिफ्ट मोडल चाँडै नै दक्षिण यसियाली बजारमा सार्वजनिक हुने छ । पुरानो मोडलको तुलनामा यसको एक्सटेरियर तथा इन्टेरियरमा निक्कै परिवर्तन गरिएको छ । साथै, यसको इन्जिनमा समेत परिमार्जन गरिएको छ । यो मोडलमा नयाँ प्रदुषण मापदण्ड बीएस ६ अनुसारको १.५ लिटर पेट्रोल र डिजेल इन्जिन लगाइएको छ ।

अल न्यू क्रेटा 

हुन्डाइको चर्चित एसयूभी क्रेटा नयाँ अवतारमा आउने भएको छ । हाल कम्पनीले अल न्यु क्रेटाको परिक्षण गरिरहेको छ । पुरानो मोडलको तुलनामा यसको लुक्सलाई केही परिवर्तन गरिएको छ भने, इन्टेरियरलाई मोर्डन डिजाइनमा सजाइएको छ ।

क्रेटामा कयौं नयाँ फिचर थपिएको छ भने नयाँ इन्जिन लगाइएको छ । यो मोडल अगामी अटो एक्स्पोमा प्रदर्शन गर्ने अनुमान गरिएको छ ।

नयाँ आई २०


हाल, परिक्षणको क्रममा रहेको प्रिमियम ह्याचब्याक कार आई २० अटो एक्स्पो २०२० मा अनविल हुने छ । नयाँ डिजाइनमा आउने नयाँआइ–२० लाई रेगुलर मोडलको तुलनामा थुप्रै परिमार्जन गरिएको छ । यसमा भेन्यूमा उपलब्ध १.० लिटर टर्बाेचार्ज्ड पेट्रोल इन्जिन लगाइएको छ । आकर्षक सुरक्षा फिचर उपलब्ध हुने आई २० आगामी अप्रिल महिनामा सार्वजनिक हुने अनुमान गरिएको छ ।


Back_to_top