नयाँ ट्याक्सीको दर्ता खुल्दै, अब आउने ट्याक्सी १२ सय सीसीभन्दा माथिका

काठमाडौं । सरकारले नयाँ ट्याक्सी दर्ता खोल्ने तयारी गरेको छ । एक हजार २०० सीसी र त्योभन्दा बढी क्षमताका ट्याक्सीको दर्ता गर्न अध्ययन भइरहेको छ । यात्रुलाई सुविधायुक्त सवारीसाधन आवश्यक भएको भन्दै नयाँ ट्याक्सी दर्ता खुलाउन लागिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । 

अहिले सडकमा रहेका ट्याक्सी पुराना रहेकाले तिनलाई हटाउँदै नयाँ र सुविधायुक्त ट्याक्सी ल्याउनुपर्ने उनले बताए । विभागका अनुसार सडकमा कस्ता र कति क्षमताका ट्याक्सी आवश्यक छ भनी अध्ययन भइरहेको छ । 

ट्याक्सीको दर्ता नियमितरूपमा खुलाउनेभन्दा पनि केही समयका लागि खुलाइने उनको भनाइ छ । उनले भने, “अहिले केही समयका लागि र सीमित सङ्ख्यामा खुलाइने भए पनि त्यसपछि फेरि बन्द हुन्छ ।”

सरकारले लामो समयदेखि ट्याक्सीको दर्ता बन्द गरेकामा भूकम्पीडितलाई राहत दिने भन्दै वि.सं. २०७२ भूकम्पीडित जिल्लावासीका लागि ट्याक्सीको दर्ता खुलाएको थियो । 

अहिले सडकमा रहेका ट्याक्सीमध्ये अधिकांश ८००  सीसी क्षमता बराबरका छन् । सिट पनि साँघुरो र कम क्षमताको हुँदा यात्रुलाई असहज रहेको छ । रासस


Back_to_top