१५ मिनेटमा ८० प्रतिशत चार्ज हुने टोयोटाको इलेक्ट्रीक कार

काठमाडौं । टोयोटाको पहिलो इलेक्ट्रीक कार ‘इक्यू’ भारतमा प्रदर्शनी गरिएको छ । भारतमा टोयोटा किर्लोस्कर मोटर्सले यसको प्रदर्शनी गरेको हो । कम्पनीले यसलाई आफ्नो सानो कार आइक्यूको प्ल्याटर्फममा निर्माण गरेको जनाएको छ ।

इक्यू चार्जगर्न निकै सजिलो रहेको छ । यसलाई घरमा प्रयोग हुने बत्तीमा २०० भोल्टको एसी चार्जरबाट सजिलै चार्ज गर्न सकिन्छ भने फार्स्ट डिसी चार्जरबाट ८० प्रतिशत चार्ज गर्न केवल १५ मिनेट मात्र लाग्ने जनाइएको छ । यसको फार्स्ट चार्जिङ क्षमता अहिले अन्य कम्पनीले ल्याएको भन्दा निकै राम्रो हो ।

टोयोटा आइक्यू सन् २०१२ देखि अन्तर्राष्ट्रिय बजारमा उपलब्ध सानो ह्याचव्याक कार हो ।

टोयोटाले इक्यू इलेक्ट्रीकमा १२ किलोवाट आवरको व्याट्री प्याक दिएको छ । यसमा रहेको मोटरले ६३ बीएच पावर र १६३ एनएम टर्क प्रदान गर्छ । कम्पनीको दाबी अनुसार यसले एक पटकको फुल चार्जमा १०० किलोमिटर रेञ्ज प्रदान गर्नेछ ।

अहिले बजारमा उपलब्ध अन्य इलेक्ट्रीक गाडीको तुलनामा यसको रेञ्ज निकै कम रहेकाले बजारमा यसले कस्तो व्यापार गर्छ भन्ने अहिल्यै केही भन्न सक्ने अवस्था छैन ।

टोयोटाले इक्यूको नयाँ जेनेरेशनको तयारी गरिरहेको जनाएको छ । यस्तोमा कम्पनीले यसको रेञ्ज क्षमता बढाएर ल्याउने हो भने पर्फेक्ट सिटी कार बन्न सक्ने छ ।

नेपाल यो गाडी आउने हो भने यसको सिधा प्रतिस्पर्धा महिन्द्राको सानो इलेक्ट्रीक कार इटुओसँग प्रतिस्पर्धा हुनेछ ।


Back_to_top