भारतमा पेट्रोलियम पदार्थको मूल्यमा उच्च गिरावट, नेपालमा अर्को हप्ता घट्ला ?

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलमा भारी गिरावट आएसँगै भारतमा पेट्रोलियम पदार्थको मूल्यमा एकै दिन ठूलो मात्रमा गिरावट आएको छ ।

आज भारतका मुख्य सहर दिल्ली, मुम्बाई, चेन्नाई जस्ता शहरमा पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आएको हो । आज डिजेल र पेट्रोलको मूल्यमा ३ रुपैयाँ भारुले गिरावट आएको हो ।

नेपालमा पनि भारतबाट आयात भएर बिक्री वितरण हुने गरेको पेट्रोलियम पदार्थको मूल्य घट्नु पर्ने हो । तर, नेपाल आयल निगमले तत्काल मूल्य नघट्ने जनाएको छ ।

‘हामीलाई हरेक १ र १६ तारिखमा नयाँ मूल्यसूची भारतीय आयल निगमले दिन्छ । अब आगामी १६ तारिखमा नयाँ मूल्यसूची आएपछि नयाँ मूल्य निर्धारण हुनेछ’, नेपाल आयल निगमका प्रबक्ता विरेन्द्र गोइतले भने ।

गोइतका अनुसार आगामी हप्ता नयाँ मूल्य आएसँगै पेट्रोलियम पदार्थको नयाँ मूल्य आउने छ । संभवत अहिलेको अवस्था हेर्दा नयाँ मूल्य अनुसार मूल्य घट्न सक्ने छ । तर, कति घट्छ भन्ने अहिल्यै भन्न सक्ने अवस्था छैन ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा व्यापक गिरावट आएको छ । विश्वमा कोरोना भाइरसको असरपछि कच्चा तेलको मूल्यमा भारी गिरावट आएको हो । अहिले करिब ३५ डलर प्रतिव्यारेलमा कच्चा तेलको कारोवार भइरहेको छ ।


Back_to_top