काठमाडौं । सरकारले विभिन्न प्रयोजनमा दर्ता भएका सवारीसाधनले आफूखुसी भाडा तोकी सार्वजनिक सवारीका रूपमा प्रयोग गरेमा कारबाही गर्ने जनाएको छ ।
यातायात व्यवस्था विभागले मंगलबार सूचना जारी गर्दै कानूनको उल्लंघन गरी अरू प्रयोजनमा दर्ता भएका सवारीले भाडामा यात्रु बोकेमा प्रचलित कानून बमोजिम कारबाही गर्ने बताएको छ ।
ट्याक्सी व्यवसायीले बुधबार टुटल र पठाओ जस्ता राइड सेयरिङ कम्पनीले कानून विपरित सेवा प्रदान गरिरहेको भन्दै विभाग घेराउ गरेका थिए । त्यसपछि ट्याक्सी सञ्चालकको दबावमा विभागले मंगलबार राती नै सूचना जारी गरी टुटल, पठाओ लगायतका सेवा प्रदायकको सेवा रोक्न सूचना जारी गरिएको बताइएको छ ।
विभागले राइड सेयरिङ कम्पनी टुटल र पठाओ जस्ता कम्पनीको नाम उल्लेख नगरी सार्वजनिक रूपमा प्रयोग नगर्न सूचना जारी गरेको छ । यसले निजी प्रयोजनमा दर्ता भई भाडा लिएर यात्रु बोकिरहेका टुटल, पठाओलगायतका सेवा प्रदायक प्रभावित हुनेछ ।
विभागले कानून मिचेर सञ्चालनमा रहेका त्यस्ता सवारीमाथि तत्कालै कारबाही थालिने स्पष्ट गरेको छ ।



