काठमाडौं । अन्तर्राष्ट्रिय मिडियामा सबैभन्दा बढी समाचार कोरोना जोडिएर आउन सुरु भएको छ । सबै व्यवसायमा यसको प्रत्यक्ष असर सुरु भएको छ । विश्वमा हवाई क्षेत्र, पर्यटन क्षेत्र र उत्पादन मुलक क्षेत्रमा यसको असर नराम्रोसँग पर्न सुरु भएको छ ।
नेपालमा पनि मार्चको पहिलो हप्ता टाटा मोटर्सले नयाँ प्रिमियम ह्याचव्याक कार अल्ट्रोज सार्वजनिक गर्ने सेडियूल तयार गरेको थियो । तर, कोरोनाले भारतीय बजारमा प्रभाव परेसँगै नेपालमा नयाँ गाडी सार्वजनिक गर्ने कार्यक्रम स्थगित भयो । अव केही दिनपछि मात्रै अल्ट्रोज सार्वजनिक हुनेछ ।
त्यसैगरि एमजीको इलेक्ट्रीक कार कोरोनाकै कारण समयमा डेलिभरी हुन नसकेको पारामाउन्ट मोटर्सले जनाएको छ । साथै एड्भान्स अटोमोवाइलले ल्याउन लागेको रेनो क्वीड फेसलिफ्टको सार्वजनिक गर्ने मिति पनि अनिश्चित भएको छ ।
कोरोनोका कै कारण महिन्द्रा लगायत ब्राण्डले ल्याउने तयारी गरिरहेको इलेक्ट्रीक कारमा पनि असर पर्ने निश्चित प्रायः रहेको जानकारहरु बताउँछन् ।
अन्तर्राष्ट्रिय बजारमा पनि उस्तै हालत
कोरोना भाइरसकै कारण जेनेभा इन्टरनेशनल माेटर शो अन्तिम समयमा आएर स्थगित गरिएको थियो भने न्यूयोर्क अटो शो पनि स्थगित गरिएको छ । यी मोटर शोमा करिब १०० मोडल सार्वजनिक हुने अनुमान गरिएको थियो ।
भारतीय बजारमा हुन्डाईले यही महिना सार्वजनिक गर्ने तयारी गरेको नयाँ जेनेरेशन क्रेटा र भर्ना दुबैको अब साटसुट बिक्री सुरु हुने जनाइएको छ । साथै, फक्सवागनले भारतमा सार्वजनिक गर्ने टि–रोकको कार्यक्रम समेत स्थगित गरेको जनाएको छ ।
यी सबै गाडी अब मिडिया बोलाएर भब्यरुपमा नभई सामान्य प्रेस विज्ञप्तीको भरमा बिक्री सुरु हुने छन् ।


