काठमाडौं । विद्युतीय कारमा लगाइएको अन्तःशुल्कमा सरकार छुट दिने निर्णय गरेसँगै चल्तीका हुन्डाई कोना, एमजी इजेडएस र किया निरोको मूल्य कति आउला भन्ने धरैको चासो रहँदै आएको छ ।
सरकाले दिएको अन्तःशुल्क छुटको कारण अब हुन्डाई कोना ३९ किलोवाट आवरको ब्याट्री भएको कारमा १०० किलोवाट क्षमताको मोटर रहेकोले यसमा १० प्रतिशत मात्रै अन्तःशुल्क लाग्छ । तर, ६४ किलोवाट आवरको कोना र किया निरोमा समान १५० किलोवाट क्षमताको मोटर दिइएको छ । यस कारण यो सेग्मेन्टमा १५ प्रतिशत अन्तःशुल्क लाग्ने छ ।
एमजी इजेडएसमा ११२ किलोवाटको मोटर प्रयोग गरिएको छ । यसमा पनि सरकारी नियमानुसार १५ प्रतिशत अन्तःशुल्क लाग्ने छ ।
सरकारले चालु आर्थिक वर्षको बजेटबाट यसअघि लाग्दै आएको १० प्रतिशत भन्सारलाई ४० प्रतिशत, यसअघि नलाग्ने अन्तःशुल्क गाडीको मोटर क्षमताको आधारमा ३० देखि ८० प्रतिशतसम्म र यसअघि ४ प्रतिशत रहेको सडक निर्माण दस्तुर ५ प्रतिशत बनाएको थियो । अहिले यी बढेका कार मध्ये अन्तःशुल्कमा ७५ प्रतिशतसम्मले छुट दिएको हो ।
नयाँ मूल्यमा हाम्रो अनुमान
बजेट अघि १०० किलोवाट क्षमताको मोटर जडान भएको हुन्डाई कोनाको मूल्य ५५ लाख ९६ हजार र १५० किलोवाट क्षमताको मोटर युक्त कोनाको मूल्य ६५ लाख ९६ हजार रुपैयाँ थियो । अब यी दुबै गाडीको मूल्य ७५ लाखदेखि ९५ लाख भित्र कायम हुने अनुमान गर्न सकिन्छ ।
त्यसैगरि पहिले ६६ लाख ९० हजार रुपैयाँ बिक्री भएको किया निरोको मूल्य ९६ लाख भित्र कायम हुने अनुमान गर्न सकिन्छ ।
एमजी जेडएस यसअघि ५० लाख मूल्य निर्धारण गरेर बिक्री हुँदै आएको कार हो । अब कम्पनीले यसको नयाँ मूल्य ६५ लाख रुपैयाँ हाराहारी तोक्ने अनुमान गरिएको छ ।
अहिले काठमाडौंमा गाडी नभएको र भन्सारमा रहेका गाडी छुटाउने तयारी भइरहेकाले आगामी हप्तासम्ममा सबै गाडी बिक्रेता कम्पनीले इलेक्ट्रीक कारको नयाँ मूल्य सार्वजनिक गर्ने जनाएका छन् ।

