काठमाडौं । टेस्लाले आफ्नो चर्चित ‘मोडल एस’को २०२१ मोडल सार्वजनिक गरेको छ । कम्पनीले फेब्रुअरी पहिलो साताबाट डेलिभरी सुरु गर्न लागेको मोडल एसमा यू आकारको स्टेरिङ सहित व्यापक परिमार्जन गरेको अनुमान विभिन्न रिपोर्टहरुले गरेका छन् ।
टेस्लाका प्रमुख कार्यकारी अधिकृत इलन मस्कले नयाँ मोडल एसको क्याविनको तस्विर सार्वजनिक गरेसँगै यसमा व्यापक परिमार्जन हुनसक्ने अनुमान गरिएको हो । टेस्लाले सन् २०१२ देखि यसमा ठूलो परिमार्जन गरेको थिएन ।

नयाँ मोडल एस पहिलेको तुलनामा छिटो तिब्रगति भेट्टाउन सक्ने बनाइएको छ । यसले सून्यदेखि १०० किलोमिटरको रफ्तार केवल २ सेकेन्डमा भेट्न सक्छ । कम्पनीले यसको रेञ्जसमेत विस्तार गरेको छ । यसको प्लेड भेरियन्टले एक पटकको फुलचार्जमा ६२७ किलोमिटर र प्लेड प्लस भेरियन्टले ८३७ किलोमिटर रेञ्ज प्रदान गर्ने छ ।
प्लेड प्लस भेरियन्टको उच्चगति क्षमता ३२१ किलोमिटर प्रतिघन्टा रहेको छ भने प्लेड भेरियन्टको २५० किलोमिटर प्रतिघन्टा रहेको छ ।

कम्पनीले यसको एक्सटेरियर र इन्टेरियरमा पनि व्यापक परिमार्जन गरेको छ । १९ इन्च र २१ इन्चको ह्वील प्रयोग भएको मोडल एसमा ग्लास रुफ, नयाँ बम्पर दिइएको छ । यसमा यू आकारको स्टेरिङ प्रयोग गरिएको छ । स्टेरिङको पछाडि स्कृन रहेको छ । १२.३ इन्चको डिजिटल क्लष्टर, कार्वन फाइवरको र काठको प्रयोग भएको ड्यासबोर्ड, थ्रि जोन क्लाइमेट कन्ट्रोल, २२ वटा स्पीकर यसमा पाउन सकिन्छ ।
कम्पनीले यसको टप भेरियन्टको मूल्य १ लाख ३९ हजार डलर मूल्य तोकेर विक्री सुरु गर्ने भएको छ ।

