काठमाडौं । विवाइडीको आधिकारीक वितरक साइमेक्स इङ्कले इ-६ को नयाँ जेनेरेशन मोडल नेपाल ल्याएको छ । कम्पनीले विवाइडीको सेकेन्ड जेनेरेशन मोडल नेपाल ल्याएको हो । यसको विक्री आगामी आइतबारबाट सुरु हुने कम्पनीले जानकारी दिएको छ ।
पहिलो जेनेरेशन मोडलको तुलनामा व्यापक परिमार्जन सहित आएको नयाँ इ-६ निकै आकर्षक डिजाइनमा देखिएको छ । यसको मूल्य ५५ लाखदेखि ६० लाखको वीचमा रहने कम्पनीले जनाएको छ ।
जिएल र जिएलएक्सगरी दुई भेरियन्टमा उपलब्ध हुने विवाइडी इ-६ को दुबै भेरियन्टमा ७१.७ किलोवाट आवरको व्याट्री प्याक रहेको छ ।
डब्ल्यूएलटीसीको अनुसार यी दुबै कारले सहरी क्षेत्रमा ५२० र हाइवेमा ४१५ किलोमिटर रेञ्ज प्रदान गर्ने छ । यो गाडी नेपालमा उपलब्ध अन्य गाडीको तुलनामा सर्वाधिक रेञ्ज दिने मोडल हुनेछ ।

विवाइडीले उत्पादन गरेको नयाँ व्लाड व्याट्री प्याकसहित आएको इ-६ लाई तीन किसिमको चार्जरबाट चार्ज गर्न सकिन्छ । ४० किलोवाटको एसी चार्जरले यसलाई २ घन्टामा फुल चार्ज गर्न सक्छ भने, ६.६ किलोवाटको एसी सामान्य चार्जरले १२ घन्टामा फुल चार्ज हुनेछ । यसलाई ६० किलोवाटको डिसी सिसिएस २ चार्जरले ९० मिनेटमा फुल चार्ज गर्ने कम्पनीले दावी गरेको छ ।
फ्रन्ट ह्वील ड्राइभ सिस्टम जडान भएको विवाइडीको नयाँ जेनेरेशन मोडलको लम्बाई ४६९५ एमएम, चौडाई १८१० एमएम र उचाई १६७० एमएम रहेको छ । नयाँ इ-६मा २८०० एमएमको ह्वीलवेस रहेको छ । यसमा १७५ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । एमपीभी भएकाले यसमा आवस्यकता अनुसारको बुट स्पेश तयार गर्न सकिन्छ ।
विशेषत सुरक्षालाई ध्यानमा राखेर तयार गरिएको विवाइडी इ-६ को नयाँ जेनेरेशन मोडलमा चालक सहित सबै प्यासेन्जरको सुरक्षाको लागि एयरव्याग, थ्रि प्वइन्ट सिटवेल्ट, चालक र सबै यात्रुको लागि सिटवेल्ट रिमाइन्डर, आइएसओ फिक्स चाइल्ड सिट, चिल्ड्रेन सेफ्टी लक, रिमोट लक, स्मार्ट कि सिस्टम, स्पीड सेन्सिङ्ग अटोमेटिक डोर लक, रियर भ्यू क्यामेरा, रिभर्स राडार, लो स्पीड बीप जस्ता फिचर दिइएको छ ।

भ्यान्टिलेटेड डिस्क ब्रेक, इलेक्ट्रीक पावर स्टेरिङ, एबीएस, इलेक्ट्रोनिक्स स्टेविलिटी प्रोग्राम जस्ता विशेषता यसमा पाउन सकिन्छ । पूर्णत नयाँ डिजाइनको एक्सटेरियर दिइएको इ-६ मा १७ इन्चको अलोय ह्वील, हेलोजिन हेडल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, एलइडी टेल लाइट पाउन सकिन्छ ।
कालो कलरले सजिएको क्याविन, ड्यासबोर्डमा दिइएको स्पीड लिमिट रिमाइन्डर डिभाइस, ५ इन्चको टिएफटी डिस्प्ले, बाहिरी वातावरणको टेम्पेचर डिस्प्ले, स्टेरिङमा दिइएको भ्वाइस कमाण्ड बटम, १०.१ इन्चको फ्लोटिङ इन्फोटेन्टमेन्ट सिस्टम, ४ वटा स्पीकर, ४ किसिमले एड्जस्ट गर्न मिल्ने स्टेरिङ, अटोमेटिक एसी नयाँ जेनेरेशन इ-६ का मुख्य विशेषता हुन् ।
यात्रालाई आरामदायी बनाउन लेदर सिट, अगाडि बस्ने प्यासेन्जर र चालकको लागि ६ तरिकाले आवस्यकता अनुसार मिलाउन मिल्ने सिट, मल्टी लिंक सस्पेन्सन पाउन सकिन्छ ।


