काठमाडौं । होन्डाले हिजो भारतमा सार्वजनिक गरेको एड्भेञ्चर मोटरसाइकल ‘सिबी २०० एक्स’ अहिले निकै चर्चामा रहेको छ । होन्डाले भारतमा उत्पादन गरेको पहिलो एड्भेञ्चर मोटरसाइकल भएकै कारण यसको चर्चा बढेको हो ।
नेपालमा स्याकार ट्रेडिङले विक्री गर्ने होन्डाका उत्पादन निकै सफल रहँदै आएको छ । अहिले कम्पनीले विक्री गर्दै आएको एक्सआर १५० र एक्सआर १९० एल भन्दा नयाँ मोटरसाइकल ‘सिबी २०० एक्स’ कम मूल्यमा आउने अनुमान गर्न सकिन्छ ।
होन्डाले हर्नेट २.० लाई नेपाली बजारमा ४ लाख ६० हजार ९०० रुपैयाँमा मूल्य तोकेर बुकिङ लिइरहेको छ । यस्तोमा भारतमा करिब १४ हजार मूल्य बढीमा ‘सिबी २०० एक्स’ विक्री सुरु भएकोले यसको मूल्य करिब ५ लाख १० हजार हाराहारी पर्ने अनुमान लगाउन सकिन्छ ।
होन्डा सीबी २०० एक्समा सार्प लुकिङ एलइडी लाइट, एलएडी टर्न इन्डिकेटर, नकल गार्ड, विन्ड स्क्रीन, टल ह्यान्डलवार दिइएको छ । साथै, स्प्लीट सिट, इन्जिन कौल र डबल पर्पोज टायर यसको मुख्य विशेषता हो ।

यसमा दिइएको अप राइट ह्यान्डलबार सेटअपले यसलाई अनरोड तथा अफरोड दुबै सुहाउँदो बनाएको छ । गोल्डन कलर अपसाइड फ्रन्ट सस्पेन्सन तथा रियरमा मोनोशक सस्पेन्सनले यसलाई आरामदायी टुरर बाइक बनाएको छ ।
डिजिटल इन्स्टुमेन्ट क्लस्टर, डिस्क ब्रेक, डबल च्यानल एबीएस, ब्ल्याक अलोय ह्वील, कि अन फ्यूल ट्याङक यसमा उपलब्ध मुख्य फिचर हुन् । यसमा दिइएको इन्जिनले हर्नेट २.० को समान १७.३ पीएस पावर तथा १६.१ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।


