चार एसयूभी नेपाल ल्याउने तयारीमा महिन्द्रा, थार अझै अनिश्चित

काठमाडौं । महिन्द्राको आधिकारीक वितरक अग्नी ग्रुपले सन् २०२१ भित्रै २ नयाँ मोडल र सन् २०२२ को मध्यसम्ममा थप दुई नयाँ मोडलगरी ४ मोडल नेपाल ल्याउने तयारी गरेको छ । कम्पनीले पछिल्ला दिन भारतमा विक्री सुरु भएको थार, बाेलेरो नियो, एक्सयूभी ७०० र केयूभी १०० नेपाल ल्याउने योजना बनाएको हो ।

कम्पनी स्रोतका अनुसार एक्सयूभी ७०० र बाेलेरो नियो सन् २०१९ भित्रै आउने छन् भने थार र केयूभी १०० सन् २०२२ को पहिलो क्वाटरमा ल्याउने योजना बनाएको छ ।

केयूभी १०० विद्युतीय मोटरमा उपलब्ध हुन्छ भने अन्य सबै गाडी कम्बस्चन इन्जिनयुक्त हुने छन् । साथै, महिन्द्राको चर्चित एसयूभी स्कर्पियो पनि सन् २०२२ मा नै नेपाल आउने पक्का जस्तै छ ।

भारतीय एसयूभी एक्सपर्टको उपनाम पाएको महिन्द्राले बनाएका पछिल्ला एसयूभी ग्लोवल एनक्यापले गर्ने क्र्यास टेष्टमा पनि उत्कृष्ट रेटिङ पाउन सफल हुँदै आएको छ । यस्तोमा एक्सयूभी ७०० र थारको नयाँ रिपोर्ट केही महिना भित्रै सार्वजनिक हुने अनुमान लगाउन सकिन्छ ।

महिन्द्रा थारको एक वर्षभन्दा माथि वेटिङ पिरियड भारतमै रहेकाले नेपाल आउन सकिरहेको छैन । महिन्द्रा इन्डिया स्रोतका अनुसार सेमी कन्डक्टरको समस्याको कारण थारको उत्पादन कम भइरहेको छ । त्यसैले यसको नेपाल आउने मितिको अहिलेसम्म टुङ्गो लागेको छैन ।

एक्सयूभी ७०० को व्यवसायीक उत्पादन अझै सुरु भएको छैन । भारतमा नोभेम्बर पहिलो हप्ताबाट ग्राहकलाई डिलिभरी दिने तयारी भइरहेको यो गाडीको ६५ हजार यूनिट बुकिङ पुगेको जानकारी कम्पनीले दिएको छ । भारतमा धेरै बुकिङ भएपनि एक्सयूभी ७०० नेपाल आउने कम्पनी स्रोतले जानकारी दियो ।

बाेलेरो नियो अघिल्लो महिना भारतमा सार्वजनिक भएको हो । यसअघिको टीयूभी ३०० मा परिमार्जन सहित यसको नाम नै कम्पनीले परिवर्तन गरेको हो । टियूभी ३०० पनि नेपालमा विक्री हुँदै आएको थियो । यस्तोमा सन् २०२१ भित्रै बाेलेरो नियो नेपालमा विक्री सुरु हुनेछ ।

यसअघि केयूभी १०० डिजेल र पेट्रोल इन्जिनमा उपलब्ध रहेको थियो । महिन्द्राले यसलाई कम्बस्चन इन्जिनमा उत्पादन बन्द गरेर इलेक्ट्रीकमा ल्याउन सन् २०२० मा नै तयारी गरेको भएपनि अहिलेसम्म बजारमा आउन सकेको छैन । भारत र नेपालमा एकै पटक विक्री सुरु गर्ने तयारी भइरहेको केयूभी १०० धेरै पटक परिक्षणको क्रममा पनि देखिएको थियो । सन् २०२२ मार्चसम्ममा यसको नेपालमा विक्री सुरु हुने बताइएको छ ।

महिन्द्राको नयाँ जेनेरेशन स्कर्पियो सन् २०२२ को पहिलो क्वाटरबाट भारतमा विक्री सुरु हुने अनुमान गरिएको छ । नेपालमा पनि सर्वाधिक सफल मोडल स्कर्पियो आउने छ । त्यसको लागि भने अझै केही समय कुर्नु पर्ने हुन्छ ।


Back_to_top