काठमाडौं । यामाहाले दुई नयाँ मोटरसाइकल नेपाल ल्याउने भएको छ । जापानी मोटरसाइकल कम्पनीको आधिकारीक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले बीएस ६ भर्सनका दुई मोडल नेपाल ल्याउन लागेको हो ।
कम्पनीले यामाहाको नेपालमा सार्वधिक विक्री हुने मोटरसाइकल एफजेडएस भी ३ र आर १५ भी ३ को बीएस ६ भर्सन आगामी हप्ता सार्वजनिक गर्ने तयारी गरेको हो ।
‘ग्राहकको मागलाई मध्यनजर गर्दै हामीले आफ्नो सबै मोटरसाइकल बीएस ६ भर्सनमा ल्याउने तयारी थालेका छौं । आगामी कार्तिक १५ गते एफजेडएस भी ३ को स्मार्ट कनेन्ट फिचरसहितको बीएस ६ भर्सन सार्वजनिक गर्ने तयारी गरेका छौं । साथै, युवा वर्गमा लोकप्रिय स्पोर्टस् मोटरसाइकल आर १५ भी ३ को बीएस ६ भर्सन पनि नेपाल आएको छ । यसको पनि छिट्टै विक्री सुरु गर्नेछौं’, एमएडब्लू इन्टरप्राइजेज अन्तर्गतको यामाहा डिभिजनका सीइओ राजु क्षेत्रीले मेरोअटोसँग भने ।
बीएस ६ मापदण्डका मोटरसाइकल ग्राहकको माग मात्र नभएर प्रदुषण बढ्दै गएको हाम्रो देश नेपालको नै आवश्यकता भएको उनले दाबी गरे ।
यामाहाले हाल दुई मोडलका स्कुटर तथा एक मोडलको मोटरसाइकल बीएस ६ भर्सनमा विक्री गर्दै आएको छ । कम्पनीले हालै मात्र सार्वजनिक गरेको यामाहा एमटी १५ को माग उच्च रहेको कम्पनीले जनाएको छ । त्यस्तै यामाहाले फसिनो १२५ र रेजेडआर १२५ स्कुटर बीएस ६ भर्सन विक्री गर्दै आएको स्कुटर हो ।
यामाहा एफजेडएस भी ३ एक्स कनेक्ट
यामाहा एफजेडएस भी ३ स्मार्ट कनेक्ट सहितको मोटरसाइकलमा १४९ सीसी क्षमताको सिंगल सिलिन्डर, एफआई इन्जिन रहेको छ । उक्त इन्जिनले ८००० आरपीएममा १३.२० बीएच पावर, ६५०० आरपीएममा १२.१ एनएम टर्क प्रदान गर्छ ।

कनेक्ट एक्स एपमार्फत मोटरसाइकल र मोवाइल कनेक्ट गर्न सकिने भएकोले यसबाट धेरै फिचर चलाउन सकिन्छ । हाल विक्री भइरहेको एफजेडएस भी ३ को मूल्य ३ लाख ४४ हजार ९०० रुपैयाँ रहेको छ, कनेक्ट फिचरसहित नेपालमा सार्वजनिक हुने मोटरसाइकलको मूल्य १० हजारदेखि १५ हजार रुपैयाँसम्मले बढी हुने अनुमान गरिएको छ ।
आर १५ भी ३ बीएस ६
यामाहा आर १५ भी ३ को बीएस ६ भर्सन नेपाल आइपुगेको कम्पनीले जानकारी दिएको छ । आन्तरिक गृहकार्य गरेर केही दिन भित्र नै बजारमा यसलाई उतार्ने कम्पनीले जनाएको छ ।
यामाहा आर १५ भी ३ मा १५५ सीसी लिक्विड सिङ्गल सिलिन्डर एफआइ भीभीए इन्जिन रहेको छ । यो इन्जिनले १० हजार आरपीएममा १९.३ पीएस पावरका साथै १४.७ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा सिक्स-स्पीड ट्रान्समिसन लगाइएको छ ।

मोटरसाइकलमा भेरिएवल भल्भ एक्ट्यूएसन (भीभीए) प्रविधिको प्रयोग गरिएको छ । एबीएस सुबिधा थप गरेर कम्पनीले सार्वजनिक गरेको यो मोटरसाइकल सेग्मेन्टमा धेरै पावर भएको मोटरसाइकल रहेको छ । स्लिपर कल्च, गियर इन्डिकेटर, ६ स्पीड गियरबक्स, ट्रिप मिटर, एलसीडी कन्सोल जस्ता फिचर रहेको छ ।
हाल नेपाली बजारमा उपलब्ध बीएस ४ यामाहा आर १५ भी ३ को मूल्य ४ लाख ९६ हजार ९०० रुपैयाँ रहेको छ भने बीएस ६ भर्सनमा सार्वजनिक हुँदा १५ हजार हाराहारी मूल्य बढ्न सक्ने अनुमान रहेको छ ।


