काठमाडौं । होन्डाले हाइनेस सिबी ३०० भारतमा उत्पादन सुरु गरेको एक वर्ष पुरा भएको छ । आफ्नो सफल एक वर्ष पुरा गरेको अवशरमा होन्डाले यसको एनिभर्सरी एडिशन दुई दिनअघि सार्वजनिक गरेको हो ।
होन्डाले भारतमा भइरहेको ‘इन्डियन बाइक वीक’मा यसलाई सार्वजनिक गरेको थियो । जहाँ सिबी हाइनेस र आर एस दुबै मोडल प्रदर्शनी भएको थियो ।
होन्डा हाइनेस सिबी ३५० को चर्चा भारतमा मात्र होइन नेपाली बजारमा पनि चुलिँदो छ । नेपाली बजारमा होन्डाले पछिल्लो समय विक्रीमा आक्रमकता देखाएको छ । भारतमा पनि त्यहि अनुसार कम्पनीले आगामी ३ वर्ष भित्र २५० सीसीदेखी ५०० सीसी सेग्मेन्टमा वार्षिक ३ लाख यूनिट मोटरसाइकल विक्री गर्ने लक्ष्य निर्धारण गरेर नयाँ नयाँ मोडल ल्याउने तयारी गरिरहेको छ ।
होन्डा सिबी ३५० एनिभर्सरी एडिशनको साइड प्यानल र ट्याङमा गेल्डेन थिवको लाइन ‘प्रतिक’ दिइएको छ । त्यस्तै यसको ट्याङको माथिल्लो भागमा एनिभर्सरी लोगो दिएर फरक देखाउन खोजिएको छ । यसले राइडरको गौरव झल्काउने कम्पनीले दावी गरेको छ । त्यस्तै यसमा राइडर तथा पिलियनका लागि आरामदायी ब्राउन कलरमा सिट दिइएको छ । साइड स्यान्डमा समेत क्रोमको प्रयोग गरेर थप प्रिमियम भएको झल्काउन खोजिएको देखिन्छ ।
कम्पनीले एनिभर्सरी एडिशनलाई दुई कलर अप्सनमा ल्याएको छ । पर्ल इग्नीअस ब्ल्याक र मेट मार्सल ग्रिन मेटालीक कलरले यसलाई फरक देखाएको छ । एनिभर्सरी एडिशनमा ग्राफिकका अलावा कुनैपनि मेकानिकल परिर्वतन भने गरिएको छैन ।
होन्डा सीबी ३५० हाइनेस नेपाली बजारमा लोकप्रिय मोटरसाइकल सावित भइसकेको छ । नेपालमा यो मोटरसाइकल स्टकमा पाउनै गाह्रो रहेको स्याकार ट्रेडिङ सम्बद्ध स्रोतले मेरोअटोलाई जानकारी दिए ।
नेपाली बजारमा प्रिमियम क्रुजर सेग्मेन्टमा रोयल इनफिल्डको एकाधिकार जस्तै रहेको थियो । केही समय अगाडि जावा नेपालमा सार्वजनिक भए पश्चात् केही छनोट पाएका ग्राहकले होन्डा हाइनेस सिबी विक्री सुरु भएसँगै थप छनोट गर्न पाएका छन् ।
नेपालमा होन्डा सीबी ३५० विक्री सुरु भएको लगभग ६ महिना पुरा भएको छ । यसबीच कम्पनीले २५० यूनिटभन्दा धेरै विक्री गरिसकेको जनाएको छ । यसको प्रतिस्पर्धी मोडलको तुलनामा यो मोटरसाइकल बीएस ६ इन्जिन, यसको स्मुथ राइडिङ अनुभव, यसको माइलेज र फ्रेसनेस डिजाइनको लोकप्रियता हाँसिल भएको छ ।


