मोटरसाइकल र कारको वार्षिक कर ५ वर्षको लागि अग्रिम तिर्न मिल्ने, यस्ता छन् फाइदा

काठमाडौं । यातायात व्यवस्था प्रदेश कार्यालय बागमतीले सवारीसाधन नवीकरणमा नयाँ व्यवस्था लागु गरेको छ । कार्यालयले ५ वर्षको सवारी साधनको वार्षिक कर एकै पटक तिर्न मिल्ने व्यवस्था गरेको हो ।

यसअघि हरेक वर्ष गर्नु पर्ने नवीकरण अब सेवाग्राहीले चाहेको खण्डमा एकै पटक ५ वर्षको शुल्क तिर्न सक्नेछन् । यसले धेरै सेवाग्राहीलाई फाइदा पुग्ने देखिन्छ ।

यातायात व्यवस्था कार्यालय हेटौडाका अनुसार ५ वर्षको नवीकरण एकै पटक गर्दा सेवाग्राहीलाई दोहोरो फाइदा दिन सक्ने छन् । सेवाग्राहीले ५ वर्षको शुल्क हाल कायम भएको करको दर अनुसार तिर्न पाउने व्यवस्था गरिएको छ । यसले ५ वर्ष भित्र कर बढेमा बढेको रकम तिर्नु पर्ने छैन भने एकै पटक नविकरण गर्दा कुल लाग्ने सवारी करको १० प्रतिशत छुट समेत पाइने छ ।

यातायात व्यवस्था कार्यालय हेटौडाका सुचना अधिकारी राजु अर्याल भन्छन्, ‘हामीले ५ वर्षको कर एकै पटक तिर्ने ग्राहकलाई १० प्रतिशत रकम छुट दिएका छौं । पछिल्ला वर्षमा हरेक वर्ष वार्षिक कर बढी रहेको छ । यसरी एकैपटक कर तिर्ने ग्राहकले बढेको रकम पनि तिर्नु पर्दैन ।’

एकै पटक ५ वर्षको वार्षिक कर तिर्दा ग्राहकले कम्तीमा एक वर्षको तेस्रो पक्ष बीमा गर्नु पर्ने हुन्छ । अन्य ४ वर्षको बीमा भने अनिवार्य नगरिएको सुचना अधिकारी अर्यालले बताए । अर्याल भन्छन्, ‘तेस्रो पक्ष बीमा भनेको सेवाग्राहीको फाइदाका लागि हो, हामीले अनिवार्य गरेका छैनौं, उपभोक्तले आफैँ आफु सुरक्षित हुन यो बीमा लेख खरिद गर्न सक्नेछन् ।’

बागमती प्रदेश कार्यालयले यो सुविधा कार तथा मोटरसाइकल दुवैमा लागुहुने जनाएको छ ।


Back_to_top