काठमाडौं । नेपाली बजारमा इलेक्ट्रीक सवारीसाधनको आयात बढ्दो छ । यो आर्थिक वर्षको ६ महिनाको डाटा हेर्ने हो भने २ हजार हाराहारीमा इलेक्ट्रीक दुई पाङ्ग्रे र एक हजार १ सय हाराहारी चारपाङ्ग्रे सवारीसाधन आयात भएका छन् ।
यो तथ्याङकमा सर्वाधिक हिस्सा चिनियाँ ब्राण्डले उत्पादन गरेका कार र स्कुटरको हुन् । नेपालमा हालसम्म केही मात्र भारतीय ब्राण्डका इलेक्ट्रीक दुई पाङ्ग्रे सवारीसाधन आएका छन् ।
नेपालमा पेट्रोलियम पदार्थबाट चल्ने मोटरसाइकल र स्कुटर विक्री गर्ने कुनैपनि ब्राण्डले इलेक्ट्रीक दुई पाङ्ग्रे साधन ल्याएका छैनन् । यसको प्रमुख कारण ती कम्पनीले ठूलो संख्यामा विद्युतीय साधन उत्पादन नगर्नु हो ।
भारतमा नै इलेक्ट्रीक सवारी साधनको माग उच्च हुनु र सिमित उत्पादन हुँदा नेपाल आउने परिस्थिति नबनेको बुझ्न सकिन्छ । यद्यपी भारतमा उत्पादन हुने ओकिनवा, प्योर इभी, हिरो इलेक्ट्रीक जस्ता ब्राण्ड भने नेपाल आएका छन् ।
दुई पाङ्ग्रेमा चल्तीका ब्राण्ड टीभीएस र बजाजले एकदमै कम यूनिट मात्र विद्युतीय स्कुटर उत्पादन गरिरहेका छन् । नेपालमा समेत चल्तीमा रहेको भारतीय ब्राण्ड टीभीएस र बजाजले चाँडै नेपाल इलेक्ट्रीक स्कुटर ल्याउने संकेत गरेका छन् ।

नेपाली बजारमा फस्टाउँदो इलेक्ट्रीक दुई पाङ्ग्रेको बजारलाई नजिकबाट हेर्दै आएका बजाज र टीभीएसले चाँडै आफ्ना उत्पादन नेपाल ल्याउने छन् ।
‘हामी नेपालमा नै बजाज चेतक स्कुटर एसेम्बल गर्छौ, त्यसको लागि केही समय अझै लाग्छ । हामी २०२२ को अन्त्यसम्ममा इलेक्ट्रीक स्कुटर ल्याउनेगरी काम गरिरहेका छौं’, एचएच बजाजका प्रबन्ध निर्देशक शेखर गोल्छाले मेरोअटोसँग भने ।
नेपालमा विद्युतीय मोटरसाइकल र स्कुटरको माग बढ्न थालेसँगै बजाज इलेक्ट्रीक स्कुटर ल्याउन प्रयास गरिरहेको छ । साथै, टीभीएसले पनि आफ्नो इलेक्ट्रीक स्कुटर नेपाल ल्याउने तयारी गरेको छ ।
‘अबको तीन ४ महिनापछि हामीले इलेक्ट्रीक स्कुटर देउ भनेका छौं, कम्पनीले हेर्छौ भनेको छ । सम्भवत दशैंअघि नेपाली बजारमा टीभीएसको विद्युतीय स्कुटर आउने छन्’, जगदम्बा मोटर्सका सीईओ दिपक अग्रवालले मेरोअटोसँग भने ।

टीभीएसले भारतमा आईक्यूव इलेक्ट्रीक स्कुटर उत्पादन र विक्री वितरण गर्दै आइरहेको छ । टीभीएसले चाँडै नयाँ प्लेटफर्ममा अर्को इलेक्ट्रीक स्कुटर पनि बजारमा ल्याउने जनाएको छ ।
अहिले नेपाली बजारमा एनआइयू, टेल्जी, लुयान, ओकिनवा, प्योर इभी, हिरो इलेक्ट्रीक, लेभनिङ, टेरा, सुपरसोको, ओपाइ, सेग्वे नाइनवट, याडिया, जिनियस, यात्री जस्ता दर्जनौ इलेक्ट्रीक ब्राण्डका स्कुटर तथा मोटरसाइकल विक्री हुँदै आएका छन् । ।


