काठमाडौं । पेट्रोल हरेक १५ दिनमा नयाँ रेकर्ड बनाएर मूल्य बढिरहेको छ । योसँगै विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको विक्री पनि बढ्न थालेको हो ।
बजारमा माग बढ्न थालेसँगै चिनियाँ ब्राण्ड मिकुका मोटरसाइकल नेपाल आएको छ । क्यालिबर ग्रुप अन्तर्गतको क्यालिबर अटोले मिकु ब्राण्डको इलेक्ट्रीक मोटरसाइकल नेपाल ल्याएको हो । क्यालिबर अटोले यसअघि नै डोहान ब्राण्डका इलेक्ट्रीक स्कुटर विक्री गर्दै आएको थियो ।

कम्पनीले हाल मिकु ब्राण्डका दुई मोडलका मोटरसाइकल विक्री सुरु गरेको छ । कम्पनीले मिकु सुपर र मिकु म्याक्स इलेक्ट्रीक मोटरसाइकलको विक्री थालेको हो ।
मिकु सुपरमा ३ किलावाट क्षमताको मोटर जडान गरिएको छ । यसमा ७२ भोल्ट २० एम्पीयर क्षमताको लिथियम आयोन ब्याट्री दिइएको छ ।
दुई ब्याट्री अप्सनमा आउने मिकु सुपरले एक पकटको फुलचार्जमा १३५ किलोमिटरसम्म यात्रा गर्न सकिने दावी कम्पनीको छ । यो ब्याट्रीलाई फुलचार्ज गर्न ४देखि ५ घन्टासम्म लाग्छ । यसको टप स्पीड ८० किलोमिटर प्रति घन्टा रहेको छ ।
यो मोटरसाइकलमा फुल एलइडी लाइट्स, फुल डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर, राइडीङ मोड, डबल डिस्क ब्रेक जस्ता फिचर पाउन सकिन्छ ।
यो मोटरसाइकलको मूल्य ३ लाख ९६ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।


