काठमाडौं । उपत्यका भित्र बेवारिसे छाडिएका ७ थान रोयल इनफिल्डको क्लासिक मोटरसाइकल प्रहरीले बरामद गरेको छ । प्रहरीले यी मोटरसाइकलको मूल्य अन्दाजी २१ लाख रुपैयाँ भएको उल्लेख गरेको छ ।
महानगरीय अपराध महाशाखाका अनुसार प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट यी मोटरसाइकल बरामद गरेको हो ।
भारतबाट भन्सार छली गर्दै नेपाल ल्याएर विभिन्न फर्जी नम्बर प्लेट जडान गरेर चलाएको सूचनाको आधारमा प्रहरीले छानविन गर्दा यी ७ थान मोटरसाइकल फेला परेको हो ।
यसरी नक्कली नम्बर प्लेट जडान भएका मोटरसाइकल बरामदपछि प्रहरीले त्रिभुबन अन्तर्राष्ट्रिय भन्सार कार्यालय गौचरण काठमाडौं पठाएको छ । साथै, प्रहरी थप मोटरसाइकल हुन सक्ने भन्दै अनुषन्धानलाई तिब्र बनाएको छ ।


