काठमाडौं । यामाहाले कम रकम डाउन पेमेन्टका साथै, थोरै मासिक किस्ता तिर्नेगरी मोटरसाइकल खरिद गर्न सकिने स्कीम ल्याएको छ । कम्पनीले ल्याएको यो स्कीम सिमित मोडलका मोटरसाइकल र स्कुटरमा लागु हुने कम्पनीले बताएको छ ।
यो योजना अन्तर्गत यामाहा एफजेड सिरिजकै सबैभन्दा कम मूल्यको एफजेड भी २ किन्ने ग्राहकले मासिक ७ हजार ३४८ रुपैयाँ किस्ता तिर्नेगरी मोटरसाइकल खरिद गर्न सक्नेछन् ।
यामाहाले ल्याएको यो स्कीममा एफजेड भी २ खरिद गर्दा ग्राहकले ४० प्रतिशत डाउन पेमेन्ट गुर्न पर्ने हुन्छ । बाँकी ६० प्रतिशत रकम ग्राहकले १८ महिना, २४ महिना वा ३० महिना जुन सहज हुन्छ त्यतिनै समयमा तिर्नेगरी मोटरसाइकल लिन सक्नेछन् ।
मासिक ७ हजार ३४८ रुपैयाँ किस्ता ३० महिने अवधिको लागि हो । ग्राहकले १८ महिना किस्ता तिर्नेगरी खरिद गर्दा मासिक ११ हजार ३१६ रुपैयाँ किस्ता बुझाउनु पर्छ । त्यस्तै २४ महिनाको किस्तामा खरिद गर्नेले ८ हजार ७८९ रुपैयाँ मासिक किस्ता हुन आउँछ ।
यामाहा एफजेड भी २ मोटरसाइकलको मूल्य ३ लाख २३ हजार ९०० रुपैयाँ रहेको छ । डाउन पेमेन्ट वापतको ४० प्रतिशतले हुन आउने रकम १ लाख २९ हजार ५६० रुपैयाँ भने खरिदकर्ताले नगदै जम्मा गर्नुपर्छ ।
यस्तो छ मोटरसाइकल
यामाहा एफजेड भी २ मा १४९ सीसी सिंगल सिलिन्डर एफआई इन्जिन रहेको छ । यो इन्जिनले १३.१ पीएस पावरका साथै १२.८ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।
यो मोटरसाइकलको फ्रन्टमा मोनोशक सस्पेन्सन रियरमा मोनोक्रस सस्पेन्सन पाउन सकिन्छ । यसमा सिंगल डिस्क अप्सन मात्र उपलब्ध रहेको छ । यो मोटरसाइकलमा १२ लिटर क्षमताको इन्धन ट्याङ दिइएको छ ।

