यी हुन् नेपालमा पाइने ४ ‘पर्फेक्ट ह्याचव्याक’, उच्च माइलेजसँगै उत्कृष्ट पावर (मूल्यसहित)

काठमाडौं । ह्याचव्याक कार कुनै समय नेपाल सर्वाधिक विक्री हुने सेग्मेन्टमा पथ्र्यो । त्यसमा पनि साना इन्ट्री लेभल ह्याचव्याकको विक्री निकै राम्रो थियो ।

सन् २०१२ देखि २०१७ सम्म इन्ट्री लेभल ह्याचव्याक कारको बजार हिस्सा ४० प्रतिशतभन्दा माथि थियो । यो सेग्मेन्टमा हुन्डाई सेन्ट्रो र आई १०, मारुती सुजुकी सेलेरियो र स्वीफ्ट, टाटा इन्डिका र बोल्ट जस्ता मोडल चल्तीमा थिए ।

सन् २०१३ पछि बजारमा प्रबेश गरेको सब फोर मिटर एसयूभी सेग्मेन्टले बजारको हिस्सालाई नै परिवर्तन गर्यो । अहिले नेपालमा वार्षिक विक्री हुने कार सेग्मेन्टमा सब फोर मिटरसेग्मेन्टको बजार हिस्सा ४५ प्रतिशतभन्दा माथि पुगेको छ ।

बजारबाट साना ह्याचव्याकको विस्थापन सुरु भएसँगै माइक्रो एसयूभी सेग्मेन्टले तिब्रता पाएको छ । यसका बाबजुद केही ह्याचव्याक कारमा ग्राहकको आकर्षण कायम नै रहेको पाइन्छ ।

अहिले नेपालमा सर्वाधिक विक्री हुने ह्याचव्याकमा हुन्डाई ग्राण्ड आई १० नियोस अग्रस्थानमा आउँछ । नियोसलाई मारुती सुजुकी स्वीफ्टले पछ्याई रहेको छ । स्वीफ्टपछि फक्सवागेन पोलो र टाटा टियागो यो सेग्मेन्टका बलिया प्रतिस्पर्धी हुन् ।

ग्राण्ड आई १० नियोस

ग्राण्ड आई १० नियोसको एक्सटेरियरलाई स्पोर्टी र फन्की लुक दिएको छ । यसमा इन्टर्गेटेड एलइडी डिआरएलएस, एलइडी फग ल्याम्प जस्ता फिचर पाउन सकिन्छ । स्लीकर डिजाइनमा निर्माण भएको नयाँ हेडल्याम्प, क्यासकेडिंग ग्रिलले कारलाई थप आकर्षक बनाएको छ ।

यसमा स्टील र मेसिन कट अलोय ह्वील अप्सन ग्राहकले छनोट गर्न सक्ने छन् । सार्पर हेडलाइट र न्यू टेलाइट सेटअप यसको आकर्षण हो । यसमा रहेको हुन्डाईको १.२ लिटर कप्पा इन्जिनले ८२ बीएच पावर उत्पादन गर्छ । यसको इन्जिनमा ५ स्पीड म्यानुयल र एएमटी गियरबक्स उपलब्ध रहेको छ ।

यसको ड्याशबोर्ड दिइएको इन्स्ट्रुमेन्ट कन्सोल, इन्फोटेनमेन्ट सिस्टम, आकर्षक स्टेयरिंग ह्वीलले गाडीलाई प्रिमियम लुक्स दिएको छ । इन्फोटेनमेन्ट सिस्टममा एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट हुने छ भने, सुरक्षालाई मध्यनजर गर्दै एबीएस, इबीडी, डबल एयरब्याग, रियर पार्किङ सेन्सर र रिभर्स क्यामराजस्ता फिचर दिइएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई ग्राण्ड आई १० नियोसको पाँच भेरियन्टमा विक्री गर्दै आएको छ । कम्पनीले सबैभन्दा सस्तो भेरियन्ट इरा केही दिनअघि मात्रै नेपाल ल्याएको हो । यसको मूल्य २८ लाख ५६ हजार रुपैयाँ तोकिएको छ । त्यसैगरी मग्ना, मग्ना अटोमेटिक र स्पोट्ज र स्पोट्ज अटोमेटीक भेरियन्ट बजारमा उपलब्ध छ ।

नियोस मग्ना भेरियन्टको मूल्य ३३ लाख ५६ हजार र मग्ना अटोमेटिकको ३५ लाख ९६ हजार रुपैयाँ छ । त्यस्तै स्पोट्ज भेरियन्टको मूल्य समान ३५ लाख ९६ हजार र स्पोट्ज अटोमेटीकको ३८ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

मारुती सुजुकी स्वीफ्ट

मारुती सुजुकी स्वीफ्ट सन् २००५ देखि उत्पादन सुरु भएको मोडल हो । यसको थर्ड जेनेरेशन मोडल अहिले बजारमा विक्री हुँदै आएको छ । मारुती सुजुकी स्वीफ्टमा १.२ लिटर पेट्रोल इन्जिन उपलब्ध रहेको छ । उक्त इन्जिनले अधिकतम ६००० आरपीएममा ८२ बीएच पावर प्रदान गर्छ । यसको माइलेज पनि १५ किलोमिटर प्रतिलिटर हाराहारी रहेको छ ।

मारुती सुजुकीले स्वीफ्टलाई स्पोर्टस् कारको थिममा तयाार गरेको छ । सुजुकी मोटर्सको यो ग्लोवल मोडल हो । होचो डिजाइनको कारण रोड प्रेजेन्समा पनि स्वीफ्ट अब्बल देखिन्छ ।

यसको इन्ेटरियर ब्ल्याक कलर थेम पाउन सकिन्छ । साथै, इन्ट्रुमेन्ट क्लष्टरको कम्बीनेसनले ड्यासबोर्ड निकै स्पोर्टी देखाएको छ । यसमा ७ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम रहेको छ । फ्ल्याट बटम स्टेरिङ, स्टेरिङ माउन्ट भ्वाइस कन्ट्रोल सिस्टम स्वीफ्टको बलयो पक्ष हो ।

स्पोर्टी फ्रन्ट ग्रिल, आकर्षक १५ इन्चको अलोय ह्वील, ठूलो एयरइन्टेक जस्ता विशेषताले स्वीफ्ट सदावहार ग्राहकको रोजाईमा पर्न सफल मोडल हो ।

नेपालमा मारुती सुजुकी स्वीफ्ट २ भेरियन्टमा उपलब्ध रहेको छ । यसलाई सिजी मोटोकर्पले भिएक्सआई र जेडएक्सआई भेरियन्टमा विक्री गर्दै आएको छ । भिएक्सआई भेरियन्टको मूल्य ३४ लाख ९९ हजार र जेडएक्सआईको मूल्य ३७ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

फक्सवागेन पोलो

यूरोपियन ब्राण्ड फक्सवागेन विश्वभर टोयोटासँग मास मार्केटमा प्रतिस्पर्धा गरिरहेको छ । आफ्नो स्लीम र क्यूट डिजाइनको कारण ह्याचव्याक सेग्मेन्टमा अलगै पहिचान बनाउन सफल पोलो ह्याचव्याक नेपालमा राम्रो विक्री हुने कार हो ।

फक्सवागेन समूहले एमपीआई इन्जिन र टीएसआई इन्जिनमा पोलो विक्री गर्दै आएको छ । टीएसआई इन्जिनमा सार्वजनिक भएसँगै पोलो सेग्मेन्टकै सर्वाधिक पावरफुल कार हो ।

नयाँ टिएसआई पोलोले अधिकतम ११० हर्स पावर र १७५ एनएम टर्क प्रदान गर्छ । यसमा कम्पनीले ६ स्पीड म्यानुयल र ७ स्पीड डिएसजी गियरबक्समा उपलब्ध छ । नयाँ पोलोले सून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको रफ्तार भेट्न केबल ९.९७ सेकेन्ड मात्रै लगाउने छ । यो निकै छिटो रफ्तार पकड्न सक्ने भारतमा उत्पादन भएको ह्याचव्याक कार हो । यसको उच्चगति क्षमता १९२ किलोमिटर प्रतिघण्टासम्म रहेको छ ।

कम्पनीले यसको इन्टेरियर पनि निकै उत्कृष्ट बनाएको छ । सयमा दिइएको टचस्कृन केही सानो छ । यद्यपी झट्ट हेर्दा ड्यासबोर्डमा निकै उत्कृष्ट देखिन्छ । ६.५ इन्चको टचस्कृन यसमा दिइएको छ । जसले एप्पल कार प्ले र एन्ड्रोइड अटो सपोर्ट गर्छ ।

यसको इन्ट्रुमेन्टल क्लष्टर पनि निकै स्पोर्टी रहेको छ । लेदर र्याप फ्ल्याट बटम स्टेरिङ ह्वील, ग्रे र व्ल्याक थिममा तयार भएको क्याविन, विभिन्न स्थानमा प्रयोग भएको क्रोम हाइलाइटले नयाँ पोलो निकै आकर्षक देखिएको छ ।

पुजा इन्टरनेशनल नेपालले पोलोको विभिन्न ४ भेरियन्ट अहिले नेपालमा विक्री हुँदै आएको छ । जसमा एमपीआई इन्जिनमा ट्रेन्डलाइन भेरियन्ट छ । यसको मूल्य ३२ लाख ४० हजार रुपैयाँ तोकिएको छ । यो बाहेक अन्य सबै टर्बो इन्जिनमा छन् ।

पोलो कम्फर्टलाइन म्यानुयलको ३७ लाख ९० हजार, हाइलाइन म्यानुयलको ४२ लाख ९० हजार र हाइलाइन अटोमेटीकको मूल्य ४६ लाख ४० हजार रुपैयाँ रहेको छ ।

टाटा टियागो

टाटा टियागो भारतमा सर्वाधिक सफल ह्याचव्याक हो । पछिल्लो दिनमा नेपालमा पनि यसले राम्रो विक्री पाउँदै आएको छ । ग्लोवल एनक्याप क्र्यास टेष्टमा फोर स्टार रेटिङ पाएसँगै टियागोको विक्रीमा बढोत्तरी आएको हो ।

टाटा टियागो पहिलो पटक सन् २०१६ मा सार्वजनिक भएको थियो । सार्वजनिक भएदेखि नै गाडीले राम्रो बजार पायो । यो गाडी हरेक उमेरका खरिदकर्ताको लागि उपयुक्त मानिन्छ । अझ पहिलो गाडी किन्ने ग्राहकहरूलाई टियागोले लोभ्याउने गरेको पाइन्छ । टियागो सुरक्षा र फिचर लोडेडसँगै स्टाइल र आवरणका कारण पनि विशेष छ ।

टाटाको सफल १.२ लिटर थ्री सिलिन्डर पेट्रोल इन्जिन टियागोमा पाइन्छ । जसले ६,००० आरपीएममा ८६ पीएस पावर र ३३०० आरपीएममा ११३ एनएम टर्क जेनेरेट गर्छ । यसमा पाँच स्पीड म्यानुअल ट्रान्समिसन र पाँच स्पीड एड्भान्स्ड अटोमेडेड म्यानुअल ट्रान्समिसन पाउन सकिन्छ ।

टियागोमा डुअल एयरब्याग, रिअर पार्क असिस्ट डिस्प्ले, इबीडी र सिएससी (कर्नरिङ स्टेबिलिटी कन्ट्रोल) सहितको एन्टी–लक ब्रेकिङ प्रविधि, स्पीड सेन्सेटिभ अटो लकिङ डोर, डिफ्रगरसहितको रिअर वास वाइपरलगायत विशेषताहरू छन् ।

त्यस्तै चालक र यात्रुको लागि गाडीमा पर्याप्त ठाउँ छ । गाडीमा अटोमेटेड क्लाइमेट कन्ट्रोल, स्टेरिङ माउन्ट कन्ट्रोल जस्ता विशेषताहरू छन् ।

सिप्रदी ट्रेडिङले टाटा टियागो विभिन्न ७ भेरियन्टमा उपलब्ध गराएको छ । यसको एक्सई भेरियन्टको मूल्य २८ लाख ४९ हजार, एक्सटी भेरियन्टको ३० लाख ४९ हजार, एक्सटी (अप्सनल) भेरियन्टको ३० लाख ९९ हजार र एक्सजेड भेरियन्टको ३२ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

त्यसैगरी टियागो एक्सजेए भेरियन्टको ३३ लाख ९९ हजार, एक्सजेड प्लस भेरियन्टको ३३ लाख ४९ हजार र एक्सजेडए प्लस भेरियन्टको ३७ लाख ९९ हजार रुपैयाँ रहेको छ ।


Back_to_top