दशैंमा कुन कार बेच्ने ?

काठमाडौं । सरकारले आयात प्रतिबन्ध गरेको कारण ग्राहकलाई दशैंमा धेरै छनोट उपलब्ध हुने छैन । बजारमा कार विक्री गर्ने करिब दुई दर्जन ब्राण्ड भएपनि लामो आयात प्रतिबनधको कारण बजारमा नयाँ कार पाउन सक्ने अवस्था छैन ।

यस वर्षको दशैंमा ग्राहकलाई कुन कार किन्नेभन्दा पनि विक्रेतालाई कुन कार विक्री गर्ने भन्ने चिन्ताले सताउन थालेको छ ।

नाडा अटोमोवाइल्स एशोसियशन अफ नेपालका अध्यक्ष ध्रुब थापा भन्छन्, ‘आयात प्रतिबन्ध लागेको नै ४ महिना पुरा भएको छ । त्यसको एक महिनाअघि नै अघोषित प्रतिबन्ध त थियो नै । त्यसैले सबैभन्दा धेरै गाडी विक्री हुने सिजनमा नै गाडीको उपलब्धता हुने छैन ।’

अहिले बजारमा गाडी विक्री गर्दै आएका ठूला र भोलूममा गाडी विक्री गर्ने हुन्डाई, मारुती सुजुकी, टाटा, किया जस्ता ब्राण्डसँग गाडीको उपलब्धता निकै कम छ ।

‘हामीसँग अहिलेसम्म एउटा पनि गाडी हुने नै थिएन । पछिल्ला ६ महिनामा गाडी किन्ने ग्राहकलाई बैंकले कर्जा उपलब्ध नै नगराएको र ब्याजदर पनि निकै बढेको कारण गाडी किन्ने आँट ग्राहकले गर्न नसक्दा गाडी स्टकमा रहेको हो’, जगदम्बा मोटर्सका सीईओ दिपक अग्रवालले मेरोअटोसँग भने ।

अहिले बजारमा चल्तीका मोडल पाउनै मुस्किल छ । लामो समयदेखि बुकिङ गरेर बसेका ग्राहकले गाडी पाउनै सकेका थिएनन् । सन् २०२१ को सुरुवातसँग सेमी कन्डक्टरको समस्या झेलेका उत्पादकहरुले माग अनुसार गाडी उत्पादन गर्न नसक्दा त्यति बेला बुकिङ गर्नेले गाडी पाउन सकेका थिएनन् ।

४० प्रतिशत व्यापार गुम्ने अवस्था

विगतका वर्षहरुको जस्तै हिसावले पनि दशैं–तिहारको समयमा वार्षिक विक्रीको ४० प्रतिशत सवारीसाधन विक्री हुने गरेको थियो । यही हिसावले पनि दशैं तिहारको समयमा करिब ५ देखि ६ हजार यूनिट कार र १ लाख २० हजार यूनिटभन्दा धेरै मोटरसाइकल विक्री हुने गरेको देखिन्छ ।

अहिले मोटरसाइकलको स्टक बजारमा धेरै रहेको कारण दशैंको विक्रीमा खासै समस्या नहोला । तर, कारको विक्रीमा सिधा असर पर्ने देखिन्छ ।

इलेक्ट्रीकमा पनि छैन सप्लाई

सरकारले इलेक्ट्रीक कारको आयात खुल्ला राखेको भएपनि सप्लाईको समस्या छ । टाटाले विक्री गर्ने नेक्सन ईभी किन्न बुकिङ गरेर बसेका धेरैले गाडी पाउन सकेका छैनन् । त्यस्तै समस्या अधिकांश कम्पनीसँग छ ।

एमजीले विगत ६ महिनादेखि जेडएस ईभी नेपाल ल्याउन सकेको छैन । कियाको पनि सप्लाई ठप्प छ । हुन्डाईले अत्यन्त न्यून संख्यामा कोना र आयोनीक फाइभ ल्याईरहेको छ ।

यसको अलावा साना ईभीको आयात बन्द जस्तै छन् । बीवाइडी र होजोन मोटर्सले केही विद्युतीय गाडी बजारमा ल्याइरहेको भएपनि ग्राहकलाई धेरै छनोट उपलब्ध छैन ।


Back_to_top