काठमाडौं । ग्रेटवाल मोटर्सले उत्पादन गरेको विंगल-५ पीकअपको नेपालमा विक्री सुरु भएको छ । विशाल ग्रुप अन्तर्गतको भिजी इम्पेक्सले ग्रेटवालको नयाँ पीकअप विंगल-५ नेपालमा विक्री सुरु गरेको हो ।
चिनियाँ ब्राण्डले केही दिनअघि नै विंगल नेपाल ल्याएको भएपनि अहिले विक्री सुरु गरेको हो । ग्रेटवालले यसअघि विक्री गर्दै आएको पावर पीकअपको तुलनामा विंगल-५ को मूल्य १८ लाख ५० हजार रुपैयाँले कम छ । तर, यी दुबै गाडीमा इन्जिन भने समान पाउन सकिन्छ ।
ग्रेटवाल विंगलको मूल्य ५२ लाख ४९ हजार रुपैयाँ निर्धारण गरेर विक्री सुरु भएको हो । विंगल पीकअपमा फोर ह्वील ड्राइभ अप्सन पाउन सकिन्छ । यसमा कम्पनीले १९९६ सीसी क्षमताको इन्जिन दिएको छ । यसले अधिकतम १४१ हर्सपावर र ३०५ एनएम टर्क प्रदान गर्छ ।
सामान्य डिजाइनमा तयार भएको यो पीकअप कमर्शियल प्रयोजनको लागि उपयुक्त मानिन्छ । विंगल पीकअपमा अलोय ह्वील, पावर विन्डो, रेडियो, अटोमेटीक एसी, लेदरले मोरिएको सिट जस्ता फिचर पाउन सकिन्छ ।


