काठमाडौं । मारुती सुजुकीले भारतीय बजारको लागि क्रसओभर कार ल्याउने अन्तिम तयारी गरिरहेको छ । कम्पनीले ग्राण्ड भिटाराको डेलिभरी सुरु गरेसँगै नयाँ क्रसओभर कार बजारमा उतार्ने तयारी गरेको हो ।
महिन्द्राले जनवरी २०२३ मा नयाँ मोडल बजारमा ल्याउने छ । सन् २०२२ फेब्रुअरीमा आयोजना हुनु पर्ने अटो एक्स्पो आगामी जनवरीमा आयोजना हुँदैछ । यही अटो एक्स्पो २०२३ मा मारुती सुजुकीले नयाँ क्रसओभर कार ल्याउने छ ।
मारुती सुजुकीले ल्याउन लागेको नयाँ क्रसओभर बलेनो ह्याचव्याकमा आधारित रहने छ । कम्पनीले ‘वाईटीबी’ नाम दिएर यसको उत्पादनको काम गरिरहेपनि नयाँ क्रसओभरको नाम के हुने भन्ने विषय बाहिर आएको छैन ।
कम्पनीले यो क्रसओभरमा १.० लिटर बुस्टरजेट टर्बो इन्जिन दिने बताइएको छ । उक्त इन्जिनले १०२ पीएस पावर र १५० एनएम टर्क प्रदान गर्छ । कम्पनीले नयाँ क्रसओभरलाई फिचर प्याक्ट कारको रुपमा बजारमा ल्याउने छ ।
केही वर्ष अघिसम्म यो सेग्मेन्टमा हुन्डाई आई २० एक्टीभ बजारमा थियो । साथै, फिगोको फ्रिस्टाइल पनि थियो । तर, दुबै कारको उत्पादन बन्द भएसँगै मारुती सुजुकीले नयाँ मोडल ल्याउन लागेको हो ।
नयाँ क्रसओभरमा ग्राण्ड भिटारा प्रेरित फ्रन्ट ग्रिल, एलइडी डेटाइम रनिङ लाइट, एलइडी हेडल्याम्प, नयाँ डिजाइनको अलोय ह्वील, रुफलाइन, कुप्पे डिजाइन रहेको देख्न सकिन्छ । कम्पनीले यसको क्याविनमा नयाँ ब्रेजा र बलेनोको फिचर प्रदान गर्नेछ ।

