काठमाडौं । अनिल शाह नेपाली बैंकिङ क्षेत्रको चर्चित नाम हो । आफ्नो ३० वर्षे बैंकिङ करियरबाट विश्राम लिएर विभिन्न सामाजिक काममा सक्रिय शाह निजी सवारीसाधन मनपराउने व्यक्तिको रूपमा पनि धेरैले चिन्छन् ।
भिरकोटे राजा तारकबहादुर शाहको नाति अनिल केशरी शाह अहिले बीवाइडीको विद्युतीय गाडी चढिरहेका छन् । करिब एक महिना अघि मात्रै बीवाइडीको अल न्यू ई–सिक्स खरिद गरेका शाह अब सबैले विद्युतीय गाडीमा जानु पर्ने धारणा राख्छन् ।
आफूले पहिलो गाडी चढेको समय सम्झँदै शाहले सुनाए, मेरो हजुरबुबा राजा महिन्द्रको कोर टिममा बसेर काम गर्नुभएको थियो । उहाँलाई राजा महेन्द्रले एउटा गाडी गिफ्ट दिनुभयो । त्यही मोटर हाम्रो परिवारको पहिलो साधन थियो । अहिले मलाई त्यो कुन ब्राण्डको हो भन्ने याद पनि छैन । त्यतिबेला म ५/६ वर्षको मात्रै थिए । म निकै पहिलादेखि मोटर चढ्नेमा नै पर्छु । त्यसैले म अरू जस्तो आफू मोटर चढ्ने तर, अरूले धेरै धुवाँ उडायो भनेर गाली गर्दिन । आफैंं गाडी चढ्नेले यस्तो कुरा बोल्ने अधिकार पाउँदैन ।
आफैं पैसा कमाएर पहिलो पटक किनेको गाडी ‘निभा लाडा’ नामको रसियन जीप थियो भन्दै शाह भन्छन्, ‘बैंकमा काम गरेको कारण ऋण पाउने भएकाले जीप किनेको थिए ।’

पहिला मोटर चलाउन सिक्दा आफू मात्रै गाडी चलाउँछु जस्तो लागेको उनले बताए । पहिलो पटक लाइसेन्सको परीक्षा पास गर्दा जीवनको सबैभन्दा ठूलो चिज पाए जस्तो भएको थियो, उनले आफ्नो लाइसेन्स पाउँदाको अनुभव सुनाए । सुरूमा धेरै समय गाडी चलाएको भए पनि बीचमा कामको कारण पछाडि सिटमै बस्नु परेको थियो भन्दै उनी भन्छन्, ‘अहिले बैंकबाट बाहिर हुँदा मलाई आफैंँ गाडी चलाउन मनपर्छ । बीवाइडीको ई–सिक्स किनेको छु । नयाँ टेक्नोलोजीको प्रयोग आफैंँ गरिरहेको छु ।’
अब विद्युतीय गाडीको विकल्प छैन भन्दै उनी भन्छन्, ‘नेपालको आफ्नै उत्पादन विजुलीबाट चल्ने गाडीको प्रयोग सबै हिसाबले ठीक छ । पेट्रोलियम पदार्थ किन्नु पर्दैन । आफ्नै बिजुली उपभोग गर्न पाइन्छ । प्रदूषण हुँदैन । त्यसैले अब विस्तारै गाडी किन्नेले विद्युतीय नै किन्नुपर्छ ।’
लामो समय बैंकिङ क्षेत्रमा काम गरेको र सवारीसाधनको पहुँच विस्तारमा हायर पर्चेज कर्जाको सुरूवात गर्ने व्यक्तिको हिसाबले नेपालको अटोमोबाइल क्षेत्रलाई कसरी हेर्नुहुन्छ ? भन्ने हाम्रो प्रश्नमा शाह भन्छन्, ‘कीर्तिपुर र भक्तपुरमा बस्ने मानिसको अनुहार हेरर छुट्टाउन सकिने अवस्था थियो । कीर्तिपुर बस्नेको निधार कालो र भक्तपुर बस्नेको घाँटीको पछाडिको भाग कालो हुन्थ्यो । त्यो किन भने हिँडेर काममा जाँदा बिहानको घामले डढेर हो । जसले त्यति बेला गाडी चढ्थे उनीहरू गाडी धेरै भयो, वातावरण बिग्रियो भन्थे । आज समय फेरिएको छ । धेरै सहरी क्षेत्रमा बस्नेसँग दुईपाङ्ग्रे वा चारपाङ्ग्रे आफ्नै साधन छ ।’

मैले अहिलेको स्टायण्डर्ड चार्टड बैंकबाट सवारीसाधन कर्जा सुरू गर्दा केही चिनेजानेका मानिसलाई कर्जा लिएर गाडी किन्नुहोस् भन्दा उनीहरू हाँस्थे । खल्तीमा पैसा छैन, शान देखाउँन गाडी किन्ने भनेर आफन्त र छिमेकीले के भन्लान् भन्ने डर थियो उहाँहरूमा । तर, २५ वर्षमा समय त फेरियो नि । आजभोलि मानिसहरू मिहिनेत नै एउटा सवारी साधन, घर र बालबच्चा पढाउनको लागि गर्न थालेका छन् ।
अर्को कुरा नेपालको स्तर माथि जान अनिल शाहको जीवन कसरी बितेको छ भन्ने विषयले महत्व नराख्ने उनको भनाइ छ । उनी भन्छन्, ‘हरेक नेपालीको आर्थिक हैसियत माथि उठ्नु पर्छ । अब हरेक घरमा दुईपाङ्ग्रे भए पनि विद्युतीय साधन हुनुपर्छ भन्ने मान्यताबाट अगाडि जानुपर्छ । हामीले बिजुली उत्पादन गर्न थालेका छौं । आफ्नै विद्युतबाट गाडी चार्ज गरौं भन्ने संकल्प गरौं ।’
अहिले पेट्रोल गाडी नचाहिने अवस्था नै आएको हो र ? भन्ने प्रश्नमा शाह अलि फरक मत राख्दै भन्छन्, ‘हरेक कुराको एउटा ट्रान्जिशनल फेज’ हुन्छ । कुनै पनि कुरा एकै पटक सम्भव हुँदैन । समयको मागसँगै विस्तारै आमनागरिकले यसको महत्व बुझ्छन् ।’
नेपाल विद्युतीय साधनमा जानु पर्ने मुख्य तीन कुरा रहेको शाह बताउँछन् । त्यसमा पहिलो आर्थिक हिसाबले चलाउन सस्तो, दोस्रो वतावरण प्रदूषण कम हुने र तेस्रो आफ्नै विद्युत उपभोग गर्न पाइने हुँदा पेट्रोलियम पदार्थ किन्न बाहिरिने रकम बचत गर्न सकिन्छ ।
बीवाइडी नै किन त ? भन्ने प्रश्नमा लामो हाँसोपछि शाह भन्छन्, ‘खुट्टा लामो छ, गाडी पनि लामो चाहियो नि । नत्र बस्दा सजिलो हुँदैन । दोस्रो यसको ब्याट्री टेक्नोलोजीले मलाई प्रभावित गरेको थियो । त्यस्तै यसको रेन्ज पनि अहिलेसम्म नेपालमा आएको विद्युतीय गाडीमध्ये सबैभन्दा धेरै छ । त्यसैले मेरो रोजाइमा ई–सिक्स पर्यो ।

तपाईंको ग्यारेजमा अहिलेसम्मको सबैभन्दा उत्कृष्ट गाडी कुन थियो भन्ने प्रश्न नसकिँदै शाहले भने ‘रेन्जरोभर इभोक’, त्यसपछि उनले थपे, ‘त्यो मेरो थिएन । बैंकको थियो । मैले केही वर्ष चढे ।’
दुवै गाडी मैले चलाएको छु । रेन्जरोभर इभोक र बीवाइडी ई–सिक्समा तुलना त गर्न मिल्दैन । तर, ई सिक्सको संचालन खर्च एकदम कम, वातावरण प्रदूषण नगर्ने र चलाउँदा पनि आवजसमेत नआउने हुँदा नयाँ अनुभूति गर्न पाएको छु ।


