महिन्द्राको ईभीमा सेकेन्ड इनिङ सुरु, यस्तो छ पहिलो एसयूभी

काठमाडौं । महिन्द्रा एण्ड महिन्द्राले सन् २००९ बाटै विद्युतीय कार उत्पादनमा हात हालेको थियो । तर, पछिल्ला दिनमा कम्पनीसँग इभेरिटो बाहेक अन्य कुनै पनि मोडल उपलब्ध छैन । नेपालमा पनि सबैभन्दा पहिलो इलेक्ट्रीक कारको रुपमा महिन्द्राको लगानीमा उत्पादन भएको रेभा र महिन्द्रा ब्राण्डमा नै आएको इटुओ मोडल थियो ।

भारतीय बजारमा टाटा कम्पनीले ईभी उत्पादनलाई तिब्रता दिएसँगै अन्य ब्राण्ड पनि दवावमा आएका छन् । यही क्रममा महिन्द्राले फेरी एक पटक ईभी उत्पादनलाई तिब्रता दिने भएको हो ।

महिन्द्राले सन् २०२३ जनवरीदेखि बजारमा विक्री गर्नेगरी एक्सयूभी ४०० सार्वजनिक गरिसकेको छ । महिन्द्राले आफ्नो सफल सब फोर मिटर एक्सयूभी ३०० को प्लेटफर्ममा बनाएको एक्सयूभी ४०० ईभी टाटा नेक्सनको प्रतिस्पर्धी मोडल हो ।

महिन्द्राको एक्स १०० प्लेटफर्ममा बनेको एक्सयूभी ४०० मात्र ८.३ सेकेन्डमा शून्यबाट १०० किलोमिटर प्रतिघण्टाको स्पीडमा दौडन सक्छ । यसको टप स्पीड १५० किलोमिटर प्रतिघण्टा रहेको छ । यसका आधारमा महिन्द्रा एक्सयूभी ४०० भारतमा निर्माण भएको ईभी मध्ये सबैभन्दा छिटो कुद्ने ईभी हो ।

महिन्द्राले यसमा ३९.४ किलोवाट आवरको लिथियम आयोन ब्याट्री दिएको छ । यसलाई एक पटकको फुल चार्जमा ४५६ किलोमिटर गुडाउन सकिने एआरएआईले प्रमाणित गरेको छ । यसको रियल रेन्ज भने ३०० किलोमिटर हाराहारी हुने अनुमान गर्न सकिन्छ ।

एक्सयूभी ४०० मा फ्रन्ट ह्वील ड्राइभ सिंगल मोटर दिएको छ । विभिन्न मिडिया रिपोर्ट अनुसार यसमा ११४ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर उपलब्ध रहने छ । त्यो भनेको १४९ पीएस पावर र ३१० एनएम टर्क हो । नेपाल ल्याउँदा यसमा ३० प्रतिशत भन्सार र ३० प्रतिशत अन्तःशुल्क लाग्ने छ ।

सुरक्षाको हिसावले पनि महिन्द्रा एक्सयूभी ४०० उत्कृष्ट रहेको छ । यसमा हाइस्ट्रेन्थको स्टीलका थुप्रै सेफ्टी फिचर स्ट्याडर्ड फिचरको रुपमा पाउन सकिन्छ । महिन्द्राकोे एक्सयूभी ३०० ले पहिला नै ग्लोबल एनक्याप सेफ्टी रेटिङमा ५ स्टार रेटिङ पाएकाले यो एसयूभी पनि ५ स्टार रेटिङने पाउनेमा कम्पनी ढुक्क रहेको छ ।

महिन्द्राको एक्सयूभी ४०० ईभीमा ५० किलोवाटसम्मको डिसी चार्जर सपोर्ट गर्छ । यो चार्जरले चार्ज गर्दा एक्सयूभी ४०० को ब्याट्रीलाई शून्यबाट ८० प्रतिशत चार्ज गर्न जम्मा ५० मिनेट लाग्छ । यो एसयूभीलाई गाडीमा उपलब्ध ३.३ किलोवाटको होम चार्जरले चार्ज गर्दा फुल चार्ज हुन १३ घण्टा लाग्छ । त्यस्तै बजारमा पाइने ७.२ किलोवाटको चार्जरले चार्ज गर्दा भने ६ घण्टा ३० मिनेटमै फुल चार्ज हुन्छ ।


Back_to_top