विश्वको तेस्रो ठूलो कार उत्पादक हुन्डाई, यी हुन् पहिलो र दोस्रो ब्राण्ड

काठमाडौं । कोरियन अटोमोवाइल कम्पनी हुन्डाई मोटर्स ग्रुप विश्वको तेस्रो ठूलो मोटर कम्पनी बन्न सफल भएको छ । सन् २०२२ को पहिलो ९ महिनाको विक्री तथ्यांकको आधारमा हुन्डाई मोटर ग्रुप तेस्रो स्थानमा उक्लेको हो ।

दक्षिण कोरियन ब्राण्डले तेस्रो ठूलो अटोमोवाइल कम्पनी बन्दा जापानी, युरोपीयन र अमेरिकन ब्राण्डलाई पछाडि परेको हो । अमेरिकी जनरल मोटर्स, जापनीज निसान र इटालीयन अमेरिकी अटोमोवाइल ग्रुप स्टेलान्टीसलाई विक्री संख्यामा पछि पारेको हो ।

५५ वर्ष अगाडि स्थापना भएको हुन्डाई मोटर्स ग्रुपले हुन्डाई, किया र जेनीसस ब्राण्डमा कार उत्पादन गर्दै आएको छ । विश्वभर कम मूल्यका फिचर लोडेड कार उत्पादनमा हुन्डाईले ख्याति कमाएको छ । हुन्डाईको विश्वभर १९३ देशमा ५ हजार भन्दा बढी डिलसशिप तथा शोरुम संचालन गरिरहेको छ ।

सन् २०२२ को पूर्ण विक्री आंकडा सार्वजनिक नभएता पनि यो वर्षको दोस्रो क्वाटरसम्ममा टोयोटाले ५१ लाख ३८ हजार, फक्सवागेन ग्रुपले ४० लाख ६ हजार र हुन्डाई ग्रुपले ३२ लाख ९९ हजार कार विक्री गरेको थियो ।

हुन्डाई ग्रुपपछि रेनो-निसान-मित्सुवीसी एलायन्सले ३१ लाख ४० हजार यूनिट कार विक्री गर्न सफल भएको थियो । त्यसलाई पछ्याउदै स्टेलान्टीसले ३० लाख १९ हजार र जनरल मोटर्सले २८ लाख ४० हजार यूनिट कार विक्री गर्न सफल भएका छन् ।


Back_to_top