काठमाडौं । जापानी कार निर्माता निसानले इन्ट्री लेभल ह्याचव्याक कार माइक्राको इलेक्ट्रीक भर्सन सार्वजनिक गर्ने भएको हाे । कम्पनीले यहि वर्षको अन्त्यसम्ममा बजारमा ल्याउने यो ईभी सबैभन्दा सस्तो मोडल हुने अनुमान गरिएको छ ।
निसानले विश्व बजारमा विक्री बन्द गरेको माइक्रा ह्याचव्याकमा ब्यापक परिमार्जन गरी इलेक्ट्रीक मोडल ल्याउन लागेको हो । कम्पनीले रेनो-निसान एलायन्सले तयार पारेको ‘सीएमएफ-बी’ प्लेटफर्ममा यसलाई बनाउने छ । रेनोले यहि प्लेटफर्ममा रेनो-५ ईभी ल्याउने तयारी गरिरहेको छ ।
निसानले सार्वजनिक गरेको यस कारको आधिकारिक तस्बिरमा राउण्डर डिजाइन ल्याङ्गवेज प्रयोग गरिएको छ । यसको डिजाइन नयाँ निसान आरिया र एङ्गुलर रेनो-५ सँग धेरै मिल्दोजुल्दो रहेको पाइन्छ ।
कम्पनीले यसमा पावरफुल मोटर दिइने छ । मल्टिपल ब्याट्री स्टोरेज अप्सनको विकल्प रहने अनुमान गरिएको माइक्रा फिचर लोडेड ह्याचव्याक हुनेछ ।
ब्याट्रीमा छनोट उपलब्ध हुने बताइएको भएपनि कुन कुन साइजमा उपलब्ध हुने भन्ने विषयमा कुनै जानकारी दिइएको छैन । यद्यपि, यसलाई सिंगल चार्जमा ४०० किलोमिटरसम्म गुडाउन सकिने अनुमान गरिएको छ ।
निसानले अहिले अन्तर्राष्ट्रिय बजारमा लिफ र आरियाको विक्री सुरु गरेको छ । नेपालमा पनि अघिल्लो वर्ष निसानले लिफ सेडान सार्वजनिक गरेको थियो । यस हिसावले निसानको नयाँ इलेक्ट्रीक उत्पादनहरु नेपाल आउने सहजै अनुमान लगाउन सकिन्छ ।


