काठमाडौं । चिनियाँ अटोमोबाइल कम्पनी होजोन अटोले उत्पादन गरेको विद्युतीय कार नेटा भी करिब ९ महिना अघि नेपाली बजारमा आएको थियो ।
क्रसओभर ह्याचब्याक कारको डिजाइनमा रहेको नेटाभी एक सिटी कारको रूपमा स्थापित इलेक्ट्रिक भेहिकल हो । नेपालमा सीजी मोटर्सले आधिकारिक रूपमा नेटा भीको विक्री वितरण गर्दै आएको छ ।
सीजी मोटर्सले नेटा भीले एकपटकको फुलचार्जमा ३८० किलोमिटरको माइलेज दिने दाबी गरेको छ । सीजीको दाबी अनुसारको रेन्ज र ग्राउण्ड क्लियरेन्सको अनरोड परीक्षण गर्न हामीले केहि दिन अगाडि लामाे टेस्ट ड्राइभ गरेका थियौं ।
काठमाडौंबाट नेटा भीमा देशका कुनै पनि ठूलो सहरमा सजिलै यात्रा गर्न सकिन्छ भन्ने दाबीलाई प्ररिक्षण गर्न हामीले काठमाडौंबाट जनकपुरसम्म यात्रा गरेका थियौं ।
हात्तीवनबाट यात्रा सुरू, धुलिखेलमा पहिलो ब्रेक
हाम्रो यात्रा नेटाभीको आधिकारिक सर्भिस सेन्टर ललितपुरको हात्तीवनबाट फुलचार्जमा सुरू भयो । हामीले यो ईभी गुडाउन सुरू गर्दा सुरूवातमा ड्यासबार्डमा यसको रेन्ज ३८३ किलोमिटर देखाएको थियो ।

हामीले धुलिखेल पुगेर पहिलो ब्रेक लियौं । त्यति बेलासम्म हामीले २८ किलोमिटरको यात्रा गरेका थियौं । हात्तीवनदेखि नै एसी चलाएर चलाएर धुलिखेल पुग्दा १४ प्रतिशत चार्ज खपत भएको थियो ।
दोस्रो ब्रेक मूलकोटमा
धुलिखेलबाट हिँडेपछि हाम्रो दोस्रो ब्रेक सिन्धुलीको मूलकोटमा भएको थियो । त्यहाँसम्म पुग्दा हामीले ९४ किलोमिटरको दूरी पार गरेका थियौं । मूलकोटसम्मको यात्रामा गाडीकोे चार्ज ७६ प्रतिशत बाँकी थियो । अर्थातर २४ प्रतिशत चार्ज उपभोग गरेर ९४ किलोमिटर यात्रा गरेका थियौं ।

धुलिखेलबाट प्राय ओरालो बाटो भएकाले १ प्रतिशत ब्याट्रीले करिब ४ किलोमिटरको यात्रा भएको थियो । मूलकोटमा डीसी फास्ट चार्जरको सुविधा रहेको छ । तर, गाडीमा यथेस्ट चार्ज बाँकी रहेकोले हामीले चार्ज गरेनौं, त्यत्तिकै अगाडि बढ्यौं ।
उकालो चढ्दै खनियाँखर्क
बीपी राजमार्ग अन्तर्गत धुुलिखेल सिन्धुली बर्दीबास खण्डमा खनियाँखर्क सबैभन्दा उचाइ भएको ठाँउ हो । यो ठाँउमा पुग्न खुर्कोटबाट करिब १६-१७ किलोमिटर उकालो चढ्नु पर्छ । मूलकोटबाट ३० किलोमिटरको यो खण्डमा आइपुग्दा हाम्रो गाडीको ५७ प्रतिशतको ब्याट्री चार्ज बाँकी रहेको थियो । ललितपुरदेखि १२५ किलोमिटरको यात्रा ४३ प्रतिशतको ब्याट्री चार्जले पुगिएको थियो ।

ओरालो झर्दै बर्दीबास
खनियाँखर्कबाट हिँडेपछि हामी बदीबासमा पुगेर रोकियौं । त्यहाँसम्म पुग्दा गाडीको आधा बढी चार्ज सकिएको थियो । ५२ प्रतिशत चार्ज खपतमा हामी बर्दीबास पुगेका थियौं भने ४८ प्रतिशत चार्ज बाँकी नै थियो ।

हाम्रो ड्यासबोर्डमा बाँकी रहेका ४८ प्रतिशत ब्याट्री चार्जले अझै १९२ किलोमिटर यात्रा गर्न सकिने देखाएको थियो । बर्दीबासबाट दायाँ लाग्दा वीरगंज पुगिन्छ भने बाँया लाग्दा ढल्केवर हुँदै जनकपुर पुगिन्छ । बर्दीबास–वीरगंज १२५ किलोमिटर रहेकाले चार्ज नगरिकनै वीरगंजसम्म पुग्न सकिने रहेछ । बर्दीबासमा पनि डीसी फास्ट चार्जरको सुविधा रहेको छ, तर हामीलाई चार्ज गर्न आवश्यक नै परेन ।
अनि पुगियो जनकपुर
ललितपुरबाट हिँडैको झन्डै १२ घण्छापछि अन्ततः हामी जनकपुर पुग्यौं । सो क्रममा हामीले २१५ किलोमिटरको यात्रा गर्यौं । जुनकपुर पुग्दासम्म जम्मा ६२ प्रतिशत चार्ज सकिएको थियो भने ३८ प्रतिशत बाँकी नै थियो । ड्यासबोर्डमा अझै १५५ किलोमिटर गुड्न सकिने सन्देश देखाइरहेको थियो ।

निष्कर्ष
नेटा भी सानो साइजको गाडी भए पनि हाइवेमा करिब १२० किमी प्रतिघण्टाको स्पीडसम्म चलाउँदा कुनै असहज अनुभव भएन । १७० एमएमको ग्राउण्ड क्लियरेन्सका कारण धुलिखेल सिन्धुली सडकमा रहेका धेरैवटा कच्ची डाइभर्सन पनि कहिँ कतै छोएन ।

गाडीसँगै दिइने ६.६ किलोवाटको एक्स्ट्रा चार्जरले गर्दा हाइवेको यात्राका क्रममा धेरै छोटो समयमा रिचार्ज गर्न सकिने रहेछ । रेन्जको कुरा गर्दा आरामदायी तरिकाले गुडाउने हो भने एक पटकको फुल चार्जमा ३५० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ । र, अन्त्यमा जस्तोसुकै तरिकाले आफूलाई मनलाग्दी स्पीडमा चलाए पनि यो गाडीले ३०० किलोमिटरभन्दा बढि रेन्ज दिने रहेछ ।



