५ ढोका भएको अफरोड मेसिन जिम्नी सार्वजनिक, यस्तो छ मूल्य

काठमाडौं । इन्डो जापानी ब्राण्ड मारुती सुजुकीले भारतमा उत्पादन गरेको जिम्नी अफरोड एसयूभी सार्वजनिक भएको छ । कम्पनीले जेटा र अल्फा भेरियन्टमा यसलाई बजारमा ल्याएको हो ।

दुई भेरियन्ट भित्र पनि ग्राहकले थुप्रै छनोट पाउने छन् । जेटा एमटी र जेटा अटोमेटीकको साथमा अल्फा एमटी, अल्फा एमटी ड्यूल टोन, अल्फा अटोमेटीक र अल्फा अटोमेटीक ड्यूल टोन अप्सन पाइने छ ।

कम्पनीले पहिलो पटक ५ डोर डिजाइनमा जिम्नी उत्पादन गरेको हो । यसको सुरुवाती मूल्य १२ लाख ७४ हजारदेखि १५ लाख ५ हजार भारतीय रुपैयाँसम्म (एक्स शोरुम) तोकेर बिक्री सुरु गरेको हो । यसअघि नेपालमा जापानबाट ल्याएर जिम्नी अफरोड मेसिन सिजी मोटोकर्पले बिक्री गर्दै आएको थियो ।

कम्पनीले बिक्री सुरु गर्नुअघि बुकिङ खुल्ला गरेको जिम्नीले निकै राम्रो बुकिङ पाएको थियो । मारुती सुजुकी जिम्नीलाई ३० हजारभन्दा धेरै ग्राहकले बुकिङ गरेर बसेको कम्पनीले जनाएको छ ।

जिम्नीमा १.५ लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम १०५ पीएस पावर र १३४ एनएम टर्क प्रदान गर्छ । यसमा फोर स्पीड टर्क कन्भर्टर अटोमेटीक र फाइभ स्पीड म्यानुअल गियरबक्स दिइएको छ । भारतीय रिसर्च एजेन्सी एआरएआईले प्रतिलिटर १६.३९ किलोमिटर माइलेज दिने प्रमाणित गरेको छ ।

यो एसयूभीमा ९ इन्चको टचस्क्रिन स्मार्टप्ले प्रो प्लस इन्फोटेन्मेन्ट सिस्टम, ६ वटा एयर ब्याग, इएसपी, हिल होल्ड असिस्ट लगायत फिचर्स पाउन सकिन्छ ।

यसमा हिल डिसेन्ट कन्ट्रोल, रियर भ्यु क्यामेरा, एबीएस, इबीडी जस्ता सुरक्षाका फिचर्स दिइएको छ ।


Back_to_top