असार २० गते ‘बजाज-ट्राइम्फ’को पहिलो मोटरसाइकल आउने

काठमाडौं । भारतीय ब्राण्ड बजाज र बेलायती ब्राण्ड ट्राइम्फको सहकार्यमा भारतमा बनेको पहिलो मोटरसाइकल आगामी असार २० (जुलाई ५) गते सार्वजनिक हुने भएको छ ।

कम्पनीले ल्याउने नयाँ मोटरसाइकल मिड साइज इन्जिनमा रहने छ । यी दुई कम्पनी बजाज र ट्राइम्फले सन् २०१७ मा सहकार्यको घोषणा गरेका थिए । त्यस अनुसार सन् २०२० बाट मोटरसाइकल उत्पादनमा यी दुई कम्पनी जुटेका थिए ।

दुई कम्पनीको संयुक्त लगानीमा निर्माण भएको पहिलो मिड साइज मोटरसाइकल ट्राइम्फको ब्राण्ड लोगोमा आउने छ । यो मोटरसाइकल ब्रिटिश ब्राण्डको सबैभन्दा कम मूल्यको हुने चर्चा भइरहेको छ ।

विभिन्न समयमा परीक्षणको क्रममा देखिदा नयाँ मोटरसाइकल रोडस्टर र स्क्रयाम्वलर डिजाइन गरी दुई फरक मोडलमा आउने छ । यी दुबै मोटरसाइकलमा समान इन्जिन रहने छ भने भारतमा रहेको बजाजको प्लान्टमा उत्पादन हुनेछ ।

कम्पनीले सार्वजनिक गरेको तस्बीरका अनुसार रोडस्टर डिजाइन मोटरसाइकलको सिट रिब्ड गरिएको छ । यो मोटरसाइकल ३५० सीसीदेखि ४०० सीसी क्षमतासम्मको हुने अनुमान गर्न सकिन्छ । यो इन्जिनले ३५ हर्सपावर जेनेरेट गर्नेछ ।
बजारमा आउन लागेको ट्राइम्फ मोटरसाइकलमा गोलो हेडल्याम्पका साथ रेट्रो डिजाइन इन्डिकेटर तथा रियर भ्यू मिरर दिइएको छ । यूएडी फर्क, मोनोशक, अपस्वेप्ट एग्जष्ट यसमा रहनेछ ।

बजाजले भारतमा ट्राइम्फ मोटरसाइकलको लागि नयाँ डिलरशिप नेटवर्क निर्माण गर्ने भएको छ । बजाजले अहिले अन्य ब्राण्ड केटीएम र हस्कभर्नासँग पनि संयुक्त लगानीमा भारतमा मोटरसाइकल उत्पादन गर्दै आएको छ । जस्ता कम्पनीसँग सहकार्य गर्दै आएको छ ।


Back_to_top