काठमाडौं । अबको दुई महिना भित्रै नेपाली बजारमा आधा दर्जन मोटरसाइकल बिक्री सुरु हुने भएका छन् । चल्तीका ब्राण्ड बजाज, टीभीएस, रोयल इनफिल्ड र सुजुकीले नयाँ मोटरसाइकल बिक्री सुरु गर्न लागेका हुन् ।
बजाजको आधिकारीक बिक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले केही दिन भित्रै दुई नयाँ मोडल बिक्री सुरु गर्दैछ । त्यसैगरी टीभीएसले दुई र रोयल इनफिल्ड तथा सुजुकीले एक एक मोडल बिक्री सुरु गर्न लागेका हुन् ।
कम्पनीहरुले ल्याउन लागेको मोटरसाइकलमा बजाजका दुई मोडल इन्जिन अपग्रेड भएर आउन लागेको हो भने टीभीएसका दुबै मोडल बिल्कुलै नयाँ हुन् । सुजुकी र रोयल इनफिल्डले पनि नयाँ मोटरसाइकल बिक्री सुरु गर्न लागेका हुन् ।
बजाज पल्सर एनएस २००/१६०
कम्पनीले साउनको पहिलो हप्ता सार्वजनिक गर्ने तयारी गरिरहेको यी दुई मोटरसाइकल अपडेट भएर आउन लागेका हुन् । कम्पनीले यी दुबै मोटरसाइकलमा अपसाइड डाउन फर्क, डबल च्यानल एबीएस जस्ता फिचर उपलब्ध हुनेछ ।
बजाजले दुवै मोटरसाइकलमा यूएसडी फर्क दिइएको छ । साथै, फ्रन्टमा ३०० एमएम र रियरमा २३० एमएमको डिस्क ब्रेक उपलब्ध हुनेछ । बजाजले प्रयोग गर्दै आएको बाइब्री क्यालिपरलाई नयाँ भर्सनमा ग्रिमिका क्यालिपरले रिप्लेस गरेको हो ।

अन्य, फिचरमा दुवै मोटरसाइकलमा गियर पोजिशन इन्डिकेटर र नयाँ अलोय ह्वील दिएको छ । कम्पनीले आउँदै गरेको बजाज पल्सर एनएस २०० बीएस ६ को मूल्य ४ लाख २४ हजार ९०० र एनएस १६० बीएस ६ को मूल्य ३ लाख ८४ हजार ९०० रुपैयाँ निर्धारण गरिसकेको छ ।
यी दुबै मोटरसाइकल बजाजको आधिकारिक वेवसाइटमार्फत अनलाई बुकिङ गर्न सकिन्छ ।
टीभीएस रोनिन/आइक्यूव
टीभीएसले आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर र स्क्रयाम्वलर डिजाइनको नयाँ मोटरसाइकल नेपाली बजार बिक्री सुरु गर्दैछ । कम्पनीले टीभीएस आइक्यूव इलेक्ट्रीक स्कुटरको बुकिङ खुल्ला गरिसकेको छ ।
अर्को, मोडल रोनीन भने केही समयपछि बजारमा आउने छ । कम्पनीले रोनीन भदौमा हुने नाडा अटो शो २०२३ मा सार्वजनिक गर्ने अनुमान गरिएको छ ।

टीभीएस रोनीनमा २२५.९ सीसी क्षमताको इन्जिन दिइएको छ । उक्त इन्जिनले ७७५० आरपीएममा २० बीएच पावर तथा ३७५० आरपीएममा १९.९३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरका साथै स्लीपर क्लचसमेत ग्राहकले पाउने छन् ।
यसको फ्रन्टमा राउन्ड सेप एलईडी हेडल्याम्प रहेको छ । यसमा टी सेप एलइडी डीआरएल दिइएको छ । त्यस्तै, क्लासिक डिजिटल स्मार्ट क्लष्टर र भ्वाइस कमान्ड फिचरसमेत उपलब्ध रहेको छ ।
कम्पनीले यो मोटरसाइकलको फ्रन्टमा गोल्डेन कलर यूएसडी फर्क सस्पेन्सन र रियरमा मानोशक सस्पेन्सन दिएको छ । त्यस्तै, यो मोटरसाइकलमा १७ इन्च ह्वील, दुवै चक्कामा डिस्क ब्रेकका साथै एबीएस फिचर पाउन सकिन्छ । यसका अलावा रोनिनमा राइड मोड, फुल एलइडी हेडल्याम्प, टी सेप एलइडी डीआरएल, साइलेन्ट स्टार्ट जस्ता फिचर दिइएको छ ।
त्यसैगरी, टीभीएस आइक्यूवमा ३.०४ किलोवाट आवरको आइपी ६७ प्रमाणित लिथियम आयोन ब्याट्री रहेको छ । यो ब्याट्रीलाई एक पटकफुल चार्ज गरेर १०० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ । यसका अलावा आइक्यूबको एसटी भेरियन्टले भने १४० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ ।

यो ब्याट्रीलाई सामान्य चार्जरमा चार्ज गर्दा ४ घन्टामा ८० प्रतिशत चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । त्यस्तै, फास्ट चार्जरको प्रयोगले यसलाई २ घन्टा ३० मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिन्छ । आइक्यूवमा ३ किलोवाट क्षमताको मोटर रहेको छ भने यसले १४० एनएम पीक टर्क जेनेरेट गर्छ । यसको टप स्पीड क्षमता ८२ किलोमिटर प्रतिघन्टा रहेको छ ।
रोयल इनफिल्ड हन्टर
प्रिमियम मोटरसाइकल निर्माता कम्पनी रोयल इनफिल्डले भदौमा हुने नाडा अटो शोलाई लक्षित गरेर ‘हन्टर’ सार्वजनिक गर्ने तयारी थालेको हो ।
रोयल इनफिल्डले हन्टरमा पनि ३५० सीसी क्षमताकै इन्जिन दिएको छ । कम्पनीले मेटियर ३५० कै समान प्लेटफर्ममा हन्टर ३५० उत्पादन गरेको हो । रोयल इनफिल्डको नयाँ प्लेटर्फम जे सिरिजको इन्जिन हन्टरमा दिइएको छ ।

हन्टरमा रहेको ३४९ सीसीको सिंगल सिलिण्डर फ्यूल इन्जेक्ट एसओएचसी एयर एण्ड आयल कुल्ड इन्जिनले अधिकतम ६१०० आरपीएममा २०.२ हर्सपावर र ४००० आरपीएममा २७ न्यूटन मिटर टर्क जेनेरेट गर्छ । यो इन्जिनसँग ५ स्पीडको गियरबक्स उपलब्ध छ ।
सुजुकी भी स्ट्रोम २५० एड्भेन्चर
बढ्दो एड्भेन्चर मोटरसाइकलको मागलाई मध्यनजर गर्दे कम्पनीले भी स्ट्रोम २५० ल्याउने तयारी थालेको छ । गतवर्ष नै कम्पनीले नेपाल ल्याउने तयारी गरेको यो मोटरसाइकल १५० सीसीभन्दा माथिका मोटरसाइकल आयतबन्द भएका कारण आउन सकेको थिएन । कम्पनीले २०८० भदौमा हुने नाडा अटो शोमा यो मोटरसाइकल सार्वजनिक गर्नेछ ।

सुजुकी भी स्ट्रोम २५० एड्भेन्चर टुरर डिजाइनमा निर्माण भएको मोटरसाइकल हो । यसमा २४९ सीसी सिंगल सिलिन्डर आयल कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ९३०० आरपीएममा २६ पीएस पावर तथा ७३०० आरपीएममा २२.२ एनएम टर्क जेनेरेट गर्छ । यसमा पनी ६ स्पीडको गियरबक्स पाउन सकिन्छ ।
त्यस्तै, भी-स्ट्रोम २५० को अगाडि टेलिस्कोपिक र रियरमा स्वीङ आर्म सस्पेन्सन उपलब्ध छ । यसका सबै प्रकारका लाइटहरु एलईडी रहेका छन् । त्यसैगरी, यसमा पूर्णतः डिजिटल कन्सोल, एबीएस, साइड स्ट्याण्ड सेन्सर, फ्रन्ट भाइजर जस्ता फिचर छन् ।

