काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आफ्नो १०० किलोवाटसम्मको ईभीमा कर बढाउने निर्णयको चौचित्य पुरा भएको बताए । उनले सांसदहरुले बजेट माथि टिप्पणीको दौरान ईभीमा लगाएको करको चौचित्य के भनेर गरेको प्रश्नमा संसदमा उत्तर दिदै औचित्य पूरा भएको बताए ।
‘सरकारले लगाएको करले राजश्व बढ्यो, आयातकर्ताले आफ्नो मार्जिन घटाएरै भएपनि लगभग पुरानै मूल्यमा ईभी बिक्री सुरु गरे । यसले उपभोक्तालाई ईभीमा जान सहज भयो । यसले सरकारले कर बढाउन गरेको निर्णय सहि थियो भन्ने पुष्टि हुन्छ’, अर्थमन्त्री डा. महतले संसदमा भने ।
सरकारले ईभीलाई ५० किलोवाटसम्मको समूह बनाएर त्यसमा १० प्रतिशत भन्सार शुल्क लगाएको थियो । ५० देखि १०० किलोवाटमा १५ प्रतिशत भन्सार र १० प्रतिशत अन्तःशुल्क लगाइएको थियो ।
१०० किलोवाट माथि २०० किलोवाटसम्मका साधनमा कर समायोजन भन्दै पहिलेको तुलनामा भन्सार र अन्तःशुल्क १०/१० प्रतिशत घटाएको थियो । यो सेग्मेन्टमा अब भन्सार २० र अन्तःशुल्क २० प्रतिशत मात्रै लाग्छ ।
बजेटले २०० किलोवाट माथि ३०० किलोवाटसम्मका साधनमा ५ प्रतिशत अन्तःशुल्क घटाएको थियो । ३०० किलोवाट माथिका साधनमा भने करका दर यथावत राखिएको छ ।
हवाई टिकेटमा लाग्ने करको विषयमा भएको टिप्पणी माथि उनले भने, ‘नेपालमा टिकेट किने पनि विदेशमा किने पनि भ्याट लाग्छ । धेरैलाई नेपालमा टिकेट नकिनेर बाहिर किन्ने अवस्था आयो भन्ने चिन्ता थियो । त्यसो होइन जहाँ किनेपनि भ्याट लाग्छ । हामी एयरलाइन्ससँगै त्यो रकम उठाउँछौं ।’

